
काठमाडौं ।
सूचना र सञ्चार प्रविधिको क्षेत्रमा भएको नयाँ प्रविधिको प्रयोग र यसको उपादेयता बारेमा छलफल गर्न दक्षिण एसियाली देशका प्रतिनिधिहरुबीच छलफल भएको छ। काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित कार्यक्रममा सो विषयमा छलफल भएको हो।
एसिया प्यासिफिक टेलिकम्युनिटी र नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा धुलिखेलमा तीनदिने कार्यशाला गोष्ठीको आयोजना गरिएको छ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले कोरोना सङ्क्रमणको समयमा भएको बन्दाबन्दी समयपछि नेपालमा सूचना प्रविधिको प्रयोग बढेको बताए।
“कडा खालको बन्दाबन्दी भएदेखि धेरै सङ्घसंस्थाले सूचना प्रविधिको माध्यमको प्रयोग गरी कामहरु सञ्चालन गरे” उनले भने। पछिल्लो समय सूचना र प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन आएको उनले बताए।
फाइभजी, नेपालजस्ता पहाडी क्षेत्रका उपभोक्तासम्म सेटेलाइट प्रयोगको माध्यमबाट सस्तो दरमा टेलिकम्युनिकेशन (दूरसञ्चार) सेवा पुर्याउने, वाइफाई, अप्टिकल फाइबर र आर्टिफिसियल इन्टेलिजेन्स बारेमा छलफल हुने नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्यले जानकारी दिए।
कार्यशालामा नेपालसहित भारत, बङ्गलादेश, अफगानिस्तान, भुटान, श्रीलङ्का, पाकिस्तान, मालदिभ्स गरी आठ देशका ८० जनाको उपस्थिति छ। कार्यशालामा हङकङ, मेलेसिया, उद्योगका प्रतिनिधि, सेटेलाइट कम्पनीका प्रतिनिधिको समेत सहभागिता छ। गोरखापत्रबाट
प्रकाशित: ४ आश्विन २०७९, मंगलवार