
काठमाडौं ।
ब्रोडब्याण्ड इन्टरनेटको विस्तारसँगै टेलिकम कम्पनीहरूको आम्दानी घट्दै गएको छ। ब्रोडब्याण्ड इन्टरनेटका प्रयोगकर्ताको संख्या बढ्दा टेलिकम कम्पनीहरूको वार्षिक आम्दानी र नाफा घट्न पुगेको दुरसञ्चार प्राधिकरणले जनाएको छ।
ब्रोडब्याण्ड इन्टरनेटको विस्तारमा सर्वसाधारणको पहुँच नहुँदासम्म टेलिकम सेवा प्रदायक कम्पनीहरुले फोन र म्यासेजबाट मनग्य आम्दानी गर्दै आइरहेका थिए। तर, ब्रोडब्याण्ड इन्टरनेटको विस्तारसँगै प्रयोगकर्ताले सामाजिक सञ्जालको प्रयोग व्यापक बनाउँदा टेलिकम कम्पनीरूको आम्दानी घटेको हो।
प्राधिकरणको अघिल्लो आर्थिक वर्ष २०७७÷७८ सम्मको प्रतिवेदन अनुसार हाल नेपालमा ३ करोड ९ लाख ९३ हजार ब्रोडब्याण्डका प्रयोगकर्ता छन्।
प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले पछिल्लो ५ वर्षको अवधिमा ब्रोडव्याण्ड इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ४८ लाखले बढेको जानकारी दिए।
उनले एउटै प्रयोगकर्ताले घर र अफिसमा बेग्लाबेग्लै र एउटै कार्यालयमा पनि १ भन्दा बढी ब्रोडव्याण्ड इन्टरनेट प्रयोग गर्ने भएकोले प्रयोगकर्ताको संख्या नेपालको जनसंख्याभन्दा बढी देखिएको जानकारी दिए।
५ वर्षको अवधिमा नेपालमा करिब ५१ हजार टेलिफोन प्रयोगकर्ता घटेका छन्। विशेषगरी, मोबाइलको प्रयोगकर्ताको संख्या बढ्दै जाँदा ल्याण्डलाइन टेलिफोन प्रयोगकर्तामा कमि आएको हो।
प्रकाशित: २३ भाद्र २०७९, बिहीबार