
काठमाडौं ।
नेपालबाट ४४ वटा क्षुद्र ग्रहको पहिचानसँगै अस्थायी नाम पाएका छन्। सन् २०१६ देखि क्षुद्र ग्रहको खोजी गर्न थालिएयता ४४ वटा क्षुद्र ग्रहको अस्थायी नाम आएको नेपाल एस्ट्रोनोमिकल सोसाइटी(नासो) ले जनाएको छ।
नेपालबाट प्रारम्भिक पहिचान भएका क्षुद्र ग्रहको संख्या भने १ हजार ४ सय २८ वटा रहेको नासोले सूचनामा उल्लेख गरेको छ।
क्षुद्र ग्रह खोज्ने अभियान सन् २०१६ देखि नै सुरु भए पनि सन् २०१७ देखि मात्रै यसको प्रारम्भिक पहिचान हुन थालेको थियो भने २०१८ पछि क्षुद्र ग्रहको अस्थायी नाम राखिएको र अन्तराष्ट्रिय मान्यता समेत पाएको नासोको दाबी छ।
सन् २०१८ मा १, सन् २०१९ मा ६, सन् २०२० मा १२ र सन् २०२१ मा २५ वटा क्षुद्र ग्रहले अस्थायी नाम पाएको हो।
यो वर्ष सन् २०२२ मा खोजी भएका क्षुद्र ग्रहको नाम आउन पनि बाँकी रहेको नासोले जनाएको छ।
नासोले हरेक वर्ष इन्टरनेसनल एस्ट्रोनोमिकल सर्च कोलाब्रेसन (आईएएससी) को सहकार्यमा राष्ट्रिय क्षुद्र ग्रह खोज अभियानमार्फत क्षुद्र ग्रहको खोजी गर्दै आएको छ।
नागरिक वैज्ञानिक अवधारणाअनुसार विश्वका हरेक मुलुकमा क्षुद्र ग्रह खोज्ने अभियान सञ्चालन गरिन्छ। इन्टरनेसनल एस्ट्रोनोमिकल सर्ज कोलाबोरेसन (आईएएससी) सँगको सहकार्यमा हरेक वर्ष यो अभियान सञ्चालन हुने गरेको छ। अमेरिकाको हवाईस्थित पाम–स्टार्स टेलिस्कोपले अन्तरिक्षमा खिचेको तस्बिरका तथ्यांकहरू निश्चित सर्भरमा राखिएका हुन्छन् ।
एस्ट्रोमेट्रिका नामक सफ्टवेयरको प्रयोग गरेर टेलिस्कोपले खिचेका ती तस्बिरहरूबाट घुमिरहेको वस्तु खोजिन्छ र तिनीहरू क्षुद्र ग्रह हुन् कि होइनन् भन्नेबारे पहिचान गरिन्छ। अभियानमा संलग्न व्यक्तिलाई उक्त सर्भरमा पहुँच दिइन्छ।
अभियानमा सहभागीले क्षुद्र ग्रह भेटेको बताएपछि त्यसलाई प्रमाणीकरण गर्नका लागि अमेरिका पठाइने गरिन्छ। इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले प्रमाणित गरेपछि मात्रै क्षुद्र ग्रहको ‘प्रिलिमिनेरी’ अर्थात् प्रारम्भिक पहिचानको सूची आउँछ ।
वास्तवमा भन्ने हो भने, ग्रह बन्न नसकेका र गति भएका आकाशीय पिण्डहरूलाई क्षुद्र ग्रह भनिन्छ। सौर्यमण्डलमा धेरै आकाशीय पिण्ड छन् र तिनले पनि सूर्यलाई परिक्रमा गर्छन्।
अन्तरिक्षमा ५ सय किलोमिटरभन्दा बढी व्यास भएका क्षुद्र ग्रह ३ वटा भएको रेकर्ड गरिएको छ। यस्तै सय किलोमिटर व्यासका करिब २ सय वटा, ५ किलोमिटरसम्मका ९० हजार, ३ किलोमिटरसम्मका २ लाखभन्दा बढी क्षुद्र ग्रह सौर्य मण्डलमा घुमिरहेको अनुसन्धानकर्ताहरू बताउँछन्।
मंगल ग्रहदेखि र वृहस्पतिसम्मको खाली भागमा सूर्यलाई परिक्रमा गर्ने धूलो, कण, क्षुद्र ग्रह, ढुंगालगायत धेरै वस्तुहरू देखिन्छन्।
प्रकाशित: २३ भाद्र २०७९, बिहीबार