
काठमाडौं ।
काठमाडौं महानगरपालिकाले एनसेलले सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत लैनचौर मैदानमा निर्माण गरेको लैनचौरको फुटसल ग्राउण्डको बारमा लगाईएको रंगलाई हटाएको छ।
एनसेलले सामाजिक संस्थागत उत्तरदायित्वअन्तरगत २०७८ फागुनमा तयार पारेको सो फुटसल ग्राउण्डको वरिपरि रहेको घेराबेरामा महानगरपालिकाले हाल हरियो रंग पोतेको छ भने सामाजिक संस्थागत उत्तरदायित्वअन्तरगत ब्राण्ड मार्केटिङ्ग गर्न नपाईने बताएको छ।
यसका साथै महानगरपालिकाले भित्रको ग्राउण्डमा रहेका संरचनाहरुबाट पनि एनसेलको ‘ब्राण्ड कलर’ हटाएको हो।
सो मैदानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुला जिमखाना र बालबालिकाका लागि खेल्ने स्थान लगायत छन्। यो मैदान ५४,९२१ वर्ग फिट क्षेत्रफलमा बनेको छ।
यसअघि एनसेल र काठमाडौं महानगरपालिका वडा नं. २६ ले एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत यो हरित उद्यान निर्माण तथा संरक्षणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।
समझदारीअनुसार, एनसेलले काठमाडौं महानगरपालिकाले तयार तथा स्वीकृत गरेको डिजाइन अनुसार लैनचौर हरित उद्यान निर्माणको कार्य गरेको यसअघि जानकारी दिएको थियो।
प्रकाशित: १९ भाद्र २०७९, आईतवार