
काठमाडौं ।
बालबालिकाहरुलाई असल संस्कार सिकाउने अनलाइन कक्षा “संस्कार कक्षालय” को शुक्रवार शुभारम्भ गरिएको छ।
सुसंस्कार एवं योग अभियन्ता डा. राजु अधिकारीको अग्रसरतामा सुरु भएको संस्कार कक्षालयको चर्चित फ्रेन्च लेखक एवं विश्वकै खुसी व्यक्ति डा. म्याथ्यु रिचार्डको उपस्थितिमा भर्चुअल माध्यमबाट शुभारम्भ गरिएको हो।
अब हरेक शनिबार र आइतबार बिहान ७ः३० देखि ९ः३० बजेसम्म र दिउँसो २ः३० देखि ४ः३० बजेसम्म अनलाइनमार्फत बालबालिकाका लागि संस्कार कक्षालय सञ्चालनमा आएको बताईएको छ।
संस्कार कक्षालयको शुभारम्भ कार्यक्रममा बोल्दै डा.रिचार्डले अहिलेको समयमा संस्कारी शिक्षा अत्यन्त उपयोगी हुने भएकाले डा.अधिकारी लगायत उनको विज्ञ समूहलाई बधाई तथा शुभकामना व्यक्त गरे। शिक्षा लिनुको मुख्य उदेश्य नै असल मानव बन्नु रहेको भन्दै उनले असल शिक्षाले नै मानिसलाई खुसी राख्न मद्धत पुग्ने बताए।
डा.रिचार्डले आफ्ना र आफ्ना स्वार्थका लागि मात्र सोच्ने व्यक्ति जीवनमा कहिल्यै सफल हुन नसक्ने भन्दै अरुको खुसीमा आफ्नो खुसी देख्ने व्यक्ति नै संसारको सफल र सुखी व्यक्ति बन्ने बताए। अरुलाई दुःखी बनाउने भन्दा पनि कसरी अरुको राम्रो गर्न सकिन्छ भन्नेमा आफ्नो समय खर्चिनुपर्ने उनको भनाई थियो ।
गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले आफ्नो व्यवहारमा लागु गरेर मात्र संस्कार सिकेको अर्थ रहने बताए। संस्कार कुनै उमेर समुह र समयका लागि मात्र नभएर सबै र सँधैका लागि अत्यावश्यक रहेको भन्दै डा.महतोले संस्कार कक्षालयबाट सबैले फाइदा लिनुपर्नेमा जोड दिए।
कार्यक्रममा बोल्दै अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराईले बालबालिकाको पहिलो पाठशाला भनेकै आफ्नो घर भएकाले संस्कार घरबाटै शुरु हुनुपर्ने बताईन्। उनले बालसुलभ मस्तिष्कमा अहिले संस्कारको विजारोपण गर्न सके भविष्यमा अत्यन्त सकारात्मक मनोविज्ञानको विकास हुने बताईन् ।
शनिवारबाट शुरु हुने संस्कार कक्षालयमा असल संस्कार, संस्कारयुक्त दिनचर्या, बाल–योगाभ्यास, संस्कार प्रार्थना र श्लोकहरु, स्मरण शक्ति, एकाग्रता, मातापितालाई सम्मान, असल बानी व्यवहारलगायत विषयहरु समेटिने बताईएको छ।
पहिलो चरणमा ५ वर्षदेखि ९ वर्षसम्म, ९ वर्षदेखि १२ वर्षसम्म र १२ वर्षभन्दा माथिका गरी तीन समूहमा विभाजन संस्कार शिक्षा, योग विज्ञान, जीवन व्यवस्थापन तथा वैज्ञानिक आध्यात्मिकता जस्ता विषयका विषेशज्ञहरुमार्फत नेपाली भाषी बालबालिकालाई अनलाइनबाट संस्कार कक्षा प्रदान गरिने कक्षालयले जनाएको छ।
प्रकाशित: १९ भाद्र २०७९, आईतवार