नयाँ शून्य गुरुत्वाकर्षण प्रयोगशाला प्रयोग गरेर चीनले अन्तरिक्षमा उब्जायो धान

  • Technology Khabar | १९ भाद्र २०७९, आईतवार
नयाँ शून्य गुरुत्वाकर्षण प्रयोगशाला प्रयोग गरेर चीनले अन्तरिक्षमा उब्जायो धान

काठमाडौं ।

विश्वभरका अन्तरिक्ष एजेन्सीहरू चन्द्रमा र मंगल ग्रहमा मिसनहरू प्रक्षेपण गर्ने योजनामा ​​छन्। यस्ता धेरै मिसनहरू छन्, जसअन्तर्गत अन्तरिक्ष यात्रीहरूलाई लामो समयसम्म पृथ्वीबाट बाहिर पठाउनुपर्छ। जसले आगामी दिनमा उनीहरुको अगाडि ठूलो चुनौती खानेकुराको हुनेछ।

मिसनहरू अहिलेसम्म छोटो प्रकृतिका छन् र अन्तरिक्ष यात्रीहरूले प्याक गरिएको खाना प्रयोग गरिरहेका छन्। वैज्ञानिकहरूले अब पृथ्वीभन्दा बाहिर अन्तरिक्ष र मंगल ग्रह जस्ता अन्य ग्रहहरूमा खाना उत्पादन गर्ने तरिकाहरू खोजिरहेका छन्। यस प्रयासमा चिनियाँ वैज्ञानिकहरु सफल भएको देखिन्छ।

इन्डिपेन्डेन्ट युकेको रिपोर्टकाअनुसार पहिलो पटक अन्तरिक्षमा बीउबाट धानको बोट उब्जाइएको हो। यो भविष्यको दीर्घकालीन मिसनहरूको लागि महत्त्वपूर्ण प्रयोग हुन सक्छ।

चिनियाँ अन्तरिक्ष यात्रीहरूले वेन्टियान अन्तरिक्ष प्रयोगशालामा प्रयोग पूरा गरेका हुन। यो अन्तरिक्ष प्रयोगशाला २४ जुलाईमा कक्षमा प्रक्षेपण गरिएको थियो र चीनको तियाङगोङ अन्तरिक्ष स्टेशनको मुख्य मोड्युलसँग डक गरिएको थियो।

शून्य गुरुत्वाकर्षण वातावरणमा धानको बोटको पूर्ण जीवन चक्र पत्ता लगाउन वैज्ञानिकहरूले यो पहिलो पटक प्रयास गरेको हो। यो बीउबाट परिपक्व बिरुवामा बढ्छ र आफ्नै बीउ उत्पादन गर्न सक्षम हुन्छ। चिनियाँ अन्तरिक्ष यात्रीहरूले तोरीको परिवारको सदस्य अरबीडोप्सिस थालियाना नामक बोटमा पनि प्रयोग गरिरहेका छन्।

जुलाईमा अन्तरिक्षमा गएको प्रयोगशाला मोड्युलको लाइफ इकोलोजी एक्सपेरिमेन्ट क्याबिनेटमा अरबीडोप्सिस र धान गरेर दुई बोटबिरुवाको बीउ नमूनाहरू राखिएको थियो। अन्तरिक्ष वृद्धि प्रयोगहरू जुलाई २९ मा भूसतही निर्देशनहरूसहित सुरु गरिएको थियो।

अरबीडोप्सिस बिरुवाले धेरै पातहरू बढाएको छ, र धानको बिरुवा लगभग ३० सेन्टिमिटरको उचाइमा बढेको छ। पछि, अन्तरिक्ष बीउ प्राप्त गर्नका लाग तिनीहरूको जीवन चक्र प्रयोगहरू सञ्चालन गरिने एक ब्रीफिंगमा भनिएको चिनियाँ समाचार एजेन्सी शिन्ह्वाले उल्लेख गरेको छ।

चाइनिज एकेडेमी अफ साइन्सेसको सेन्टर फर एक्सिलेन्स इन मोलेक्युलर प्लान्ट साइन्सेसका अनुसन्धानकर्ता प्रोफेसर हुइकियोङ झेङले चाइना डेलीलाई बताएअनुसार धानका बोटहरू राम्रोसँग बढिरहेको छ।

उनले भने, “हामी सूक्ष्म गुरुत्वाकर्षणले आणविक स्तरमा बोटबिरुवामा फूल फुल्ने समयलाई कसरी असर गर्न सक्छ र सम्बन्धित प्रक्रियालाई नियन्त्रण गर्न माइक्रोग्राभिटी वातावरण प्रयोग गर्न सम्भव छ कि भनेर अनुसन्धान गर्न चाहन्छौं।”

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा चामल पनि सबैभन्दा लोकप्रिय खाना मध्ये एक हो। नासाको अपोलो मिसनमा चामल पहिलो पटक अन्तरिक्षमा प्रयोग गरिएको थियो। त्यतिबेला, अन्तरिक्ष यात्री निल आर्मस्ट्रङ, माइकल कोलिन्स र बज एल्ड्रिनले अपोलो ११ मिसनमा कुखुरा र भात खाएका थिए। त्यसयता अन्तरिक्ष यात्रीहरूले भात र अन्य चीजहरू प्याकेज गरिएको खानाको रूपमा खान थालेका छन्।

भविष्यका मिसनहरू दीर्घकालीन हुनेछन् र अन्तरिक्ष यात्रीहरूले उनीहरूसँग त्यति धेरै खाना बोक्न सक्ने छैनन्। लामो समयसम्म अन्तरिक्षमा बस्नको लागि खानाको स्थायी स्रोत त्यहाँ खोज्नुपर्छ। चिनियाँ वैज्ञानिकहरूको यो सफल प्रयास भविष्यका मिसनहरूको लागि उपयोगी हुन सक्छ।

प्रकाशित: १९ भाद्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार