अपाङ्गता भएका र जेष्ठ नागरिकलाई डिजिटल परिचयपत्र वितरण

  • Technology Khabar | १० भाद्र २०७९, शुक्रबार
अपाङ्गता भएका र जेष्ठ नागरिकलाई डिजिटल परिचयपत्र वितरण

काठमाडौं ।

अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकले नगरपालिकाबाटै डिजिटल परिचयपत्र प्राप्त गर्न थालेका छन् । डोटीको शिखर नगरपालिकाले बुधबारबाट अपाङ्गता र जेष्ठ नागरिक परिचयपत्र वितरण गर्न थालेको हो ।

यस अघि नमुना परिचयपत्रमा हातले नाम, ठेगाना र विवरण भरेर परिचयपत्र वितरण गरिदै आएको थियो ।

नगरपालिकाले परिचयपत्र बनाउने डिजिटल मसिन राखेर नगरपालिकाबाटै परिचयपत्र लिन सकिने व्यवस्था मिलाइएको महिला तथा बालबालिका शाखाका साहयक महिला विकास निरीक्षक कमला खड्काले बताईन्। यसअघि परिचयपत्र लिइसकेका सेवाग्राही र नयाँ सेवाग्राहीले आवश्यक कागजात र विवरण उपलब्ध गराएको खण्डमा आधा घण्टा भित्र डिजिटल परिचयपत्र उपलब्ध गराउन सकिने उनले बताईन्।

हातले बनाएका परिचयपत्रहरु पानीमा भिज्ने, अक्षर र फोटो मेटिने, च्यातिने समस्या रहेको थियो । यस्तो समस्या ल्याएर धेरै सेवाग्रहीहरुले गुनासो गरेपछि डिजिटल परिचयपत्र नगरपालिकाबाटै उपलब्ध गराउने व्यवस्था मिलाइएको नगर प्रमुख दीर्घ बलायरले बताए।

“परिचयपत्रका आधारमा अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकहरुले नगरबस, सार्वजनिक यातायात, स्वास्थ्य सेवा, बैंक, सामाजिक सुरक्षा भत्ता लगायतका सेवा र क्षेत्रमा सहुलियत तथा सुविधा पाउँदै आएका छन्,“उनले भने,“सो सहुलियत र सुविधा लिन अनिवार्य परिचयपत्र चाहिन्छ। परिचयपत्र टिकाउखाले भयो भने नागरिकलाई झण्झट हुँदैन। तसर्थ, डिजिटल परिचयपत्रको व्यवस्था गरिएको हो ।”

अपाङ्गता भएका व्यक्तिहरुका लागि वर्ग अनुसारको रातो, निलो, पहेँले र सेतो परिचयपत्र र जेष्ठ नागरिकहरुका लागि पूर्ण विवरण सहितको डिजिटल परिचय पत्रको व्यवस्था गरिएको सूचना तथा सञ्चार प्रविधि अधिकृत नवराज भट्टले जानकारी दिए। शिखर नगरपालिका अपाङ्गता भएका व्यक्तिहरु र जेष्ठ नागरिकलाई डिजिटल परिचयपत्र वितरण गर्ने देशकै पहिलो पालिका भएको उनको दावी छ । डिजिटल परिचयपत्रले परिचयपत्र लिएका नागरिकहरुको महत्वपूर्ण विवरण डिजिटल रुपमा नगरपालिकामा रहने भट्टले बताए।

हाललाई परिचयपत्र परिवर्तन गर्ने र नयाँ लिने सेवाग्राहीलाई नगरपालिकाबाटै डिजिटल परिचयपत्र लिन सकिने व्यवस्था गरिएको छ । निकट भविष्यमै यो सेवालाई वडा कार्यालयसम्मै विस्तार गर्ने लक्ष्य रहेको छ।

नगरपालिकाले डिजिटल परिचयपत्र वितरण गरेसँगै अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकलाई सेवा लिन सहज हुने स्थानीय डबल बहादुर शाहीले बताए।

प्रकाशित: १० भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...