
काठमाडौं ।
– अनुज राज
नेपाल टेलिकमले हाल परीक्षण गर्ने भनिएको फाइभजी सेवा अब ७ ओटै प्रदेशमा गर्ने भएको छ। यसअघि सम्झौताअनुसार विभिन्न ४ स्थानमा फाइभजीको परीक्षण गर्ने तयारी भएपनि अब टेलिकमले थप ३ स्थानहरुमा समेत परीक्षण गर्नुपर्ने भएको हो।
हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी टेलिकम कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक (एमडी) सुनिल पौडेलको कार्यसम्पादनमा नै थप बुँदा राख्दै ७ ओटै प्रदेशहरुमा ५जी सेवाको परीक्षण गर्नेगरी निर्देशन दिएको छ।
“हालै मन्त्रालयले एमडीको कार्यसम्पादनमा थप ३ स्थानमा फाइभजी परीक्षण गर्ने उल्लेख गरेर निर्देशन दिईसकेको छ। यसअनुसार अब कम्पनीले ७ ओटै प्रदेशमा परीक्षण गर्नुपर्नेछ,” सो बारेमा जानकार स्रोतले टेक्नोलोजीखबरसँग भन्यो।
नयाँ स्थान वा संख्याहरु थप हुनुमा अहिले फोरजी सेवा बिस्तारको ठेक्का पाएको भेण्डर कम्पनीको आश्वासनलाई आधार मानिएको छ।
“४जी बिस्तारको टेण्डर पाएको एक कम्पनी जेडटिईले टेलिकमलाई आफ्नो तर्फबाट ३ स्थानमा ५जी सेवा निशुल्क परीक्षण गरिदिने भनेको छ।” स्रोतले टेक्नोलोजीखबरसँग भन्यो, “यो माथिबाटै आएको र मन्त्रालयले निर्देशन दिईसकेको हुँदा अब सातै प्रदेशमा परीक्षण गर्नुपर्नेछ।”
टेलिकमले फोरजी सेवा बिस्तारको लागि कोर र र्यानतर्फ टेण्डर पारेका कम्पनीहरु क्रमशः जेडटिई र चाइना कम्युनिकेसन सर्भिसेस इन्टरनेसनल (सिसिएसआई) कम्पनीलाई जिम्मा दिएको हो।
सम्बन्धित समाचार-
टेलिकमको फोरजी बिस्तार प्रकृया अगाडि बढ्यो, फाइभ जीमा पनि जाने
यसअघि टेलिकमले फोरजी सेवा बिस्तारको क्रममा भएको सम्झौताअनुसार ४ शहरहरुमा परीक्षण गर्ने तयारी गरेको थियो। जसमा काठमाडौं, विराटनगर, पोखरा र नेपालगंज शहर तोकिएको थियो।
तर अब सातै प्रदेशमा कुनै एक-एक स्थानहरुमा फाइभजी सेवा परीक्षण गर्नुपर्ने भएको हो।
फाइभजी परीक्षणका लागि थप स्थानहरुको बारेमा सोध्दा नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले अब ७ ओटा स्थानहरुमा फाइभजी परीक्षण हुने जानकारी दिए।
“हामीलाई पनि ७ ओटा स्थानहरुमा परीक्षण गर्नुपर्ने जानकारी आएको छ,” प्रवक्ता अधिकारीले टेक्नोलोजीखबरसँग भने।
उनले कुन-कुन थप स्थानमा परीक्षण हुन्छ भनेर हाल भन्न नसकिने र अध्ययनपछि मात्र बताउन सकिने स्पष्ट पारे।
यसैबीच गत आर्थिक वर्षमा नै परीक्षण गर्ने भनिएको फाइभजी सेवाको परीक्षणमा थप ढिलाई हुँदै गएको छ। टेलिकमका अनुसार परीक्षणका लागि मगाईएको सामान तथा उपकरणहरु नै नआएको हुँदा परीक्षणको समय धकेलिँदै गएको हो।
टेलिकमका प्रवक्ता अधिकारीले सामान बाटोमा रहेको जानकारी पाएको भन्दै उपकरणहरु आएसँगै द्रूत गतिमा परीक्षण गरिने बताए।
“हामीलाई उपकरणहरु समुद्री मार्गबाट आउने हुँदा बाटोमा रहेको बताईएको छ,” उनले भने, “आउन दुई महिना लाग्ने हुँदा भदौ भित्र उपकरणहरु आउने अपेक्षा गरिएको छ। त्यसपछि लगत्तै परीक्षण गर्नेछौं।”
यसअघि सो बारेमा जानकार एक स्रोतले भने चुनाव अघि परीक्षण गर्ने गरी सामानहरु आईपुग्ने जानकारी टेक्नोलोजीखबरलाई असारमा नै दिएको थियो।
“सरकारले चुनाव अगाडी देशमा ५जी आएको भन्दै त्यसको फाइदा लिनसक्ने हुँदा त्यसैअनुसार काम हुनेछ,” स्रोतले भनेको थियो, “यसअनुसार दशैंको आसपासमा परीक्षण हुने संभावना छ।”
स्रोतकाअनुसार उपकरणहरु ल्याउन खासै समय नलाग्ने भएपनि नेपालको लागि भनेर उपकरण बनाउनुपर्ने हुँदा केहि ढिलो भएको हो।
सम्बन्धित समाचार-
चालु आर्थिक वर्षमा फाइभजी परीक्षणको आशा तुहियो, भाका सार्दै नेपाल टेलिकम
टेलिकमलाई फाइभजी सेवाको परीक्षण गर्नका लागि गत वर्ष नै नेपाल दूरसञ्चार प्राधिकरणले २६०० मेगाहर्ज ब्याण्ड निशुल्क उपलब्ध गराएको छ। जसअनुसार कम्पनीले १ वर्षसम्म निशुल्क सेवा परीक्षण गर्न सक्नेछ र ग्राहकहरुलाई समेत ५जी सेवा निशुल्क उपलब्ध गराउनुपर्नेछ।
प्रकाशित: २३ श्रावण २०७९, सोमबार