
काठमाडौं ।
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवाको सुरूवात गरेको छ । योसँगै अबदेखि ग्राहकले सहजै इसेवा मार्फत होटल बुक गर्न सकिनेछ ।
ग्राहकहरुले इसेवा एप मार्फत नेपालका कुनैपनि क्षेत्रका होटल बुक गर्न सक्नेछन् । इसेवामा हाल होटलहरु सूचीकरण गर्ने कार्य जारी छ। इसेवाले यदि अनलाइन मार्फत होटल बुक गर्ने भएमा इसेवामा सम्पर्क गर्न समेत आग्रह गरेको छ।
इसेवामा भएका होटलहरुको सूची इसेवा होटल डटकममा गएर हेर्न सकिनेछ । इसेवा मार्फत शुक्रबार साँझ ६ बजेसम्म होटल बुक गरेमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ । हाल यो सेवा एण्ड्रोइड मोबाइलमा मात्र उपलब्ध भएपनि केही दिनमा आइओएसमा सेमत उपलब्ध हुनेछ।
इसेवामा होटल सेवा सुरु भएसँगै इसेवाका होटल विभाग प्रमुख अनुज विष्टले भने, “विविध सेवाहरुलाई एकै ठाउँमा ल्याएर डिजिटल नेपाल र कारोबारलाई बढवा दिने परिकल्पना अनुसार हामीले अब होटलको सेवा सुरुवात गरेका छौँ । यसबाट ग्राहक र होटललाई सेवा मिल्नेछ भन्ने विश्वास लिएका छौँ । साथै कोभिड पछिको पर्यटन क्षेत्रको मन्दीलाई पनि यसले केहीहदसम्म टेवा पुर्याउँछ भन्ने विश्वास लिएका छौँ । साथै भविष्यमा अन्तराष्ट्रिय होटलसँग पनि सहकार्य गरि अन्तराष्ट्रिय प्रयोगकर्ता र यहाँबाट बाहिर जाने व्यक्तिहरुलाई अनलाइनबाटै होटल बुक गर्ने व्यवस्था मिलाउनेछौँ।”
प्रकाशित: २० श्रावण २०७९, शुक्रबार