
काठमाडौं ।
जनरल मोटर्स (जीएम)ले ईभी ब्याट्री प्लान्ट निर्माण गर्न २.५ अर्ब अमेरिकी डलर बराबरको सरकारी ऋण प्राप्त गरेको छ।
इनर्जी डिपार्टमेन्ट एडभान्स टेक्नोलोजी भेहिकल म्यानुफ्याचरिङ प्रोग्राम (एटीभीएमपी)ले सन् २०१० देखि विद्युतीय कार निर्मातालाई ऋण उपलब्ध गराउन छोडेको थियो। तर एमजीलाई भने ऋण दिन तयार भएको हो।
रोयटर्सका अनुसार इनर्जी डिपार्टमेन्टले ईभी ब्याट्री सेल प्लान्ट निर्माण गर्न जीएम र एलजीको संयुक्त अल्टियम सेललाई २.५ अर्ब डलर ऋण उपलब्ध गराउन तयार भएको हो।
यो कार्यक्रम अन्तर्गत ब्याट्री उत्पादनका लागि सरकारी निकायको पहिलो ऋण हो।
उक्त रकम मिशिगन, ओहायो, र टेनेसीमा प्लान्ट निर्माण गर्न प्रयोग गरिनेछ। ओहायो प्लान्टबाट अगष्टमा उत्पादन शुरु गरिने छ भने २०२३ को अन्त्य तिर टेनेसी र २०२४ मा मिशिगनबाट उत्पादन शुरु गरिनेछ। उक्त परियोजनाबाट अमेरिकामा ५ हजार थप नयाँ रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरिएको छ।
प्रारम्भिक समयमा एटीभीएमपी अन्तर्गतका सबै अघिल्ला ऋण ईभी निर्माताहरु टेस्ला, फोर्ड र निसान लगायतलाई दिइएको थियो। उक्त प्रयासलाई फलदायी मानिएको छ।
टेस्लाले प्रारम्भिक समयमा लिएको ऋणबाट राम्रो लाभ प्राप्त गरिरहेको छ।
प्रकाशित: ११ श्रावण २०७९, बुधबार