वालेट सेवा प्रदायकहरुको सर्भर डाउन हुँदा ट्राफिक जरिवाना अनलाइनबाट तिर्न समस्या

  • Technology Khabar | ३ श्रावण २०७९, मंगलवार
वालेट सेवा प्रदायकहरुको सर्भर डाउन हुँदा ट्राफिक जरिवाना अनलाइनबाट तिर्न समस्या

काठमाडौं ।

वालेट सेवा प्रदायकहरुको सर्भरमा समस्या आउँदा ट्राफिक जरिवाना राजस्व अनलाइनबाट भुक्तानी हुन सकेको छैन। वालेट सेवा प्रदायकहरुले ट्राफिक जरिवाना अनलाइनबाट भुक्तानी गर्न सक्ने व्यवस्था गरेसँग सर्वसाधारणले राहत प्राप्त गरेका थिए।

अहिले पुनः वालेटबाट ट्राफिक जरिवाना भुक्तानी हुन नसक्दा सर्वसाधारणले बैंकमा लामो लाइन बसेर रसिद काट्न बाध्य भएका छन्। वालेटबाट ट्राफिक जरिवाना भुक्तानी हुन नसकेको भनेर सेवाग्राहीहरुले टेक्नोलोजीखबरलाई जानकारी गराएका थिए।

वालेटमा आएको समस्या बारेमा ग्राहकहरुले गुनासो गरेपछि टेक्नोलोजीखबरले समेत इसेवा र खल्तीबाट रकम भुक्तानी गर्न खोज्दा समस्या आएको देखिएको थियो। जसमा ‘चिट नम्बर इरर’ भएको देखाईरहेको थियो।

यस विषयमा टेक्नोलोजीखबरले ट्राफिक प्रहरीका प्रवक्ता संजिव शर्मा दाससँग जानकारी लिँदा उनले ट्राफिक प्रहरीको कारणले नभई वालेट सेवा प्रदायकहरुको कारणले नै जरिवानाको भुक्तानी अनलाइनबाट हुन नसकेको बताए।

‘यस विषयमा मैले पनि जानकारी पाएको छु। हाम्रो सिस्टममा कुनै समस्या छैन। बैंकबाट जरिवाना भुक्तानी गर्न सकिन्छ।’

दासकाअनुसार अनुसार वालेट सेवा प्रदायकहरुको सर्भरमा समस्या आउँदा अनलाइनबाट जरिवाना भुक्तानी हुन नसेको हो।

यसैबीच बैंकबाट समेत जरिवाना भुक्तानी गर्न समस्या देखिएको छ। ट्राफिक महाशाखामा रहेकाे ग्लोबल आइएमई बैंकमा समेत सरकारी राजस्व दाखिला गर्ने रसिद सकिएको भन्दै सेवाग्राहीहरुलाई अर्को पटक आउन भनिएको थियो।

ट्राफिक जरिवाना राजस्व तिर्न ट्राफिक महाशाखा बग्गीखानामा गएका ग्राहकहरुले समेत समस्या भोगेको सुनाए।

“एक घण्टा भन्दा धेरै समयदेखि कुरिरहेको छु। ग्लोबल आइएमई बैंकले रसिद समेत सकिएको भनेर कुराएका छन् तर कहिले आउँछ भनेर भन्न सकेका छैन्,” एक सेवाग्राहीले गुनासो गरे। उनले ग्लोबल आइएमई बैंकका केहि शाखाहरुमा समेत ट्राफिक जरिवानाको राजस्व तिर्ने रसिद नभएको भन्दै अन्य शाखा जान सुझाब दिएको बताएका थिए।

त्यसैगरी अर्का एक ग्राहकहरुले वालेटबाट जरिवाना रकम तिर्न नसक्दा बैंकबाट तिर्न भनेर आएको बताए।

“इसेवा र खल्तीबाट रकम तिर्न सकिएन। अनलाइन सिस्टम पनि भरपर्दो भएन् । त्यसैले यहिँबाट तिरेर कागतपत्र लिन भनेर आएको तर बैंकमा रसिद नै सकियो भन्छ। के गर्ने खै?,” ट्राफिक महाशाखामा आएका एक युवाले भने।

यस विषयमा वालेट सेवा प्रदायकका प्रतिनिधिहरुमध्ये खल्तीका एक कर्मचारीले आफूहरुलाई थाहा नहुने बताए। त्यसैगरी इसेवामा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

अहिले ट्राफिक जरिवाना ग्लोबल आइएमई बैंकका साथै इसेवा, खल्ती लगायत वालेटहरु बाटै तिर्न सकिन्छ।

प्रकाशित: ३ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...