
काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्राण्ड शाओमीले भियतनामबाट उत्पादन शुरु गरेको छ।
केही समययता चिनियाँ स्मार्टफोन निर्माता कम्पनीहरुले थुप्रै खाले समस्या भोग्नुपरेकाले अब आफ्ना उत्पादन तथा आपूर्ति श्रृङ्खलाका लागि उनीहरु विकल्पको खोजीमा लागेका छन्।
यसै सिलसिलामा शाओमीले भियतनामलाई रोजेको र त्यहाँ बनाइएको आफ्नो नयाँ उत्पादन फ्यासिलिटीबाट उत्पादित स्मार्टफोनको पहिलो ब्याच बजारमा पनि पठाइसकेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
उत्तरी भियतनाममा रहेको उक्त नयाँ फ्यासिलिटी २ लाख वर्गमिटरमा फैलिएको र यसमा ८ करोड डलर लगानी भएको बताइएको छ। हङकङमा रहेको डीबीजी टेक्नोलोजी उक्त उत्पादनमा संलग्न रहेको छ।
शाओमीको उद्देश्य भियतनामको नयाँ फ्यासिलिटीलाई थाइल्याण्ड र मलेसियालगायत दक्षिणपूर्वी एसियाली देशहरुका लागि आपूर्ति केन्द्रका रुपमा विकास गर्नु रहेको जीएसएमएरिनाले जनाएको छ।
बजार हिस्साका आधारमा शाओमी २२ प्रतिशतसहित दोस्रो स्थानमा रहेको छ भने ३४ प्रतिशत बजार हिस्सासहित सामसङ पहिलो नम्बरमा छ। यसबाहेक शाओमीका अन्य निर्माण हब चीन तथा भारतमा रहेका छन्।
प्रकाशित: २२ असार २०७९, बुधबार