बैशाख महिनासम्ममा ३,९३० स्थानहरुमा फोरजी बेस स्टेशन, चालु आवमै बाँकी सक्ने तयारी

  • Technology Khabar | १५ असार २०७९, बुधबार
बैशाख महिनासम्ममा ३,९३० स्थानहरुमा फोरजी बेस स्टेशन, चालु आवमै बाँकी सक्ने तयारी
ढोरपाटन क्षेत्रमा ३२ सय ५० मिटर उचाईमा नेपाल टेलिकमले स्थापना गरेको मोबाइल टावर। फाइल तस्बिर।

काठमाडौं ।

नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालयबाट मुलुकभर मोबाइल सेवा विस्तार, सेवाको स्तरोन्नति तथा नयाँ सेवाहरु प्रदान गर्ने कार्य निरन्तर भइरहेको जनाएको छ। विगत ३ वर्षदेखि सञ्चालनमा रहेको फोरजी/एलटीई विस्तार आयोजनाका कार्यहरु सम्पन्न हुने क्रममा रहेका छन्।

साथै ४जी ओन्ली सेवा जडान भएका स्थानहरु र अन्य २जी सेवाको पहुँच नपुगेका स्थानहरुमा माग तथा आवश्यकता बमोजिम २जी मोबाइल सेवा विस्तार गर्नका लागि चालु आ.व. मा ७०७ ओटा जीएसएम २जी बेस स्टेशन जडान गरी सेवा विस्तार गर्ने कार्यक्रम रहेको उल्लेख गरेको छ।

फोरजी/एलटीई सेवा विस्तारको क्रममा देशभरी ४,१८६ स्थानहरुमा फोरजी/एलटीई बेस स्टेशन जडान गर्ने लक्ष्य रहेकोमा २०७९ बैशाख महिना सम्ममा ३,९३० स्थानहरुमा सेवा सञ्चालनमा ल्याइसकिएको टेलिकमले जानकारी दिएको छ। बाँकी फोरजी/एलटीई बेस स्टेशन चालु आवको अन्त्यसम्म जडान सम्पन्न गर्ने लक्ष्य लिएको छ।

निर्देशनालयकाअनुसार फोरजी/एलटीई विस्तार आयोजना अन्तर्गत ७७ वटै जिल्लाका ७५३ स्थानीय तहमध्ये २०७९ वैशाखसम्ममा ७३५ स्थानीय तहमा ४जी सेवाको पहुँच पुगिसकेको छ। ४जी ओन्ली सेवा सञ्चालन भएका स्थानहरु र २जी मोबाइल सेवाको पहुँच पुग्न नसकेका केही स्थानहरुमा २जी मोबाइल सेवा समेत उपलब्ध गराउन चालु आ.व. मा ७०७ ओटा जीएसएम २जी बेस स्टेशनहरु जडान गरी २जी मोबाइल सेवा प्रवाह गर्ने कार्यक्रम थियो।

यसमध्ये २०७९ बैशाख सम्ममा ४६२ स्थानहरुमा २जी बेस स्टेशनहरु जडान सम्पन्न गरी २जी सेवा प्रवाह गरिसकिएको छ। बाँकी रहेका स्थानहरुमा चालु आ.व. भित्रै सेवा विस्तारको कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ।

चालु आ.व.मा २जी/३जी/४जी सेवा ७७ ओटै जिल्लाका सबै स्थानीय तहका अधिकतम स्थानहरुमा उपलब्ध गराउन ४जी/एलटीई प्रोजेक्ट अन्तर्गत ६४० ओटा नयाँ टावर जडान गर्ने योजना रहेकोमा यस बमोजिम अधिकांश स्थानहरुमा जडान सम्पन्न भई ४जी सेवा सञ्चालनमा आइसकेको छ भने बाँकी टावरहरु चालु आ.व.को अन्त्यसम्ममा सम्पन्न हुने क्रममा छन्। यसका अलावा अन्य टेन्डरमार्फत पनि करिब ४०० ओटा २जी/४जी सेवा विस्तारको लागि नयाँ टावर खरिद गरी जडान गर्ने क्रममा अधिकांश स्थानहरुमा नयाँ टावर जडान भई २जी/४जी सेवा सञ्चालनमा आइसकेका छन्। यसमा पनि सञ्चालन हुन बाँकी करिब २१० ओटा टावर जडानको क्रममा रहेको निर्देशनालयले जनाएको छ।

आगामी आ.व. का कार्यक्रमहरु

देशका ७७ ओटै जिल्लाका स्थानीय तहका २जी/४जी सेवाका पहुँच नभएका सबै वस्तीहरुमा सेवा विस्तार गर्ने नेपाल टेलिकमको लक्ष्य रहेको छ। सेवा नपुगेका स्थानहरु मध्ये २जी/४जी सेवा प्रवाह गर्न ७०० ओटा ४जी ईनोडबी उपकरण खरिद गरी क्रमिक रुपमा जडान गर्ने कार्यक्रम रहेको छ। सो बाहेक हाल सञ्चालनमा रहेका कोर उपकरणहरुको स्तरोन्नति गर्ने कार्यक्रम समेत रहेको छ।

प्रकाशित: १५ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...