
काठमाडौं ।
इन्स्टाग्रामले यूजरको उमेर प्रमाणीकरणका लागि नयाँ टूल प्रयोग गर्ने बताएको छ।
प्लेटफर्मले बिहीबार यस्तो जानकारी दिँदै उक्त नयाँ टूल हाम अमेरिकी प्रयोगकर्ताबाट शुरु गर्ने बताएको हो।
मेटा अन्तर्गतको फोटो शेयरिङ एप इन्स्टाले व्यक्तिको उमेर प्रमाणीकरण गर्न अनलाइनमा परिचय खुल्ने कागजात अपलोड गर्नेबाहेक दुई ओटा नयाँ तरिका प्रयोग गरिरहेको बताएको छ।
‘यदि कोही १३ देखि १७ वर्षको छ भने हामी उसलाई प्राइभेट एकाउन्टमा जाने, नचिनेका वयष्क व्यक्तिहरुलाई अनावश्यक कन्ट्याक्टमा नराख्ने तथा विज्ञापनदाताहरुले विज्ञापनका लाषि पहुँचमा सीमा राख्नेजस्ता उमेर सुहाउँदा सुझाव दिन्छौं’, मेटाको डाटा गभर्नेन्स निर्देशक एरिका फिंकलले ब्लगमा उल्लेख गरेकी छिन्।
इन्स्टाग्रामले यूजरको गोपनीयतालाई मध्यनजर गर्दै अनलाइन उमेर प्रमाणीकरणमा विशेषज्ञता राख्ने योति नामक कम्पनीसँग सहकार्य गरेको बताएको छ।
‘प्रयोगकर्ताले आफ्नो उमेर प्रामाणीकरणका लागि भिडियो सेल्फी अपलोड गर्न सक्नेछन् र यसपछि योतिको प्रविधिले अनुहारको विशेषता अनुसार उनीहरुको उमेर आकलन गर्नेछ। मेटा तथा योति दुवैले उमेर प्रमाणीकरण पश्चात् उक्त भिडियो डिलिट गर्नेछन्’, इन्स्टाग्रामले भनेको छ।
प्रकाशित: १० असार २०७९, शुक्रबार