निजी क्षेत्रको लगानीमा चार्जिङ स्टेसन

  • Technology Khabar | ७ असार २०७९, मंगलवार
निजी क्षेत्रको लगानीमा चार्जिङ स्टेसन
फाइल तस्बिर

काठमाडौं ।

बागमती प्रदेश सरकारले सुरुका वर्ष गौरवको आयोजना बनाएको चार्जिङ स्टेसन निर्माण र विद्युतीय बस सञ्चालनसम्बन्धी योजना ओझेलमा पर्दै गएको छ । प्रदेश सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नपरेपछि प्राथमिकताविहीन बन्दै गएको हो।

प्रदेश सरकारको परिवर्तनसँगै विद्युतीय सवारीसाधन सञ्चालन प्राथमिकतामा नपर्दा चालू आर्थिक वर्षमा विनियोजन भएको बजेटसमेत खर्च हुन सकेको छैन । यता बीपी राजमार्गमा दैनिक चार हजार भन्दा बढी डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधान सञ्चालन हुँदै आएकोमा ती सवारीसाधनबाट निस्किने धुवाँले वातावरण प्रदूषण बढ्दै गएपछि विकल्पका रूपमा सञ्चालनमा ल्याइएको विद्युतीय सवारीसाधनको सङ्ख्या बढ्दै गएको छ।

यातायात व्यवसायीका अनुसार बीपी राजमार्गमा अहिले दिगो कम्पनीले १० सिट क्षमताका ३० वटा र सुन्दर यातायात कम्पनीले १९ सिट क्षमताका दुईवटा सार्वजनिक विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएका छन् ।

कमलामाई नगरपालिका–६ निवासी टङ्क कार्की आफूले पनि आठ महिनादेखि चाहना यातायात प्रालिअन्तर्गत दिगो कम्पनीका दुईओटा विद्युतीय सवारीसाधन सञ्चालन गर्दै आएको बताउँछन्। डिजेल र पेट्रोलबाट सञ्चालन हुने सवारीसाधनभन्दा विद्युतीय सवारीसाधन वातावरणमैत्री रहेको उनले बताए।

अन्य सवारीसाधनको तुलनामा टुटफुट पनि कम हुने र इन्धन पनि नचाहिने हुँदा पछिल्लो समयमा विद्युतीय सवारीसाधनप्रति यातायात व्यवसायीको आकर्षण बढ्दै गएको व्यवसायी कार्कीको भनाइ छ। कार्कीका अनुसार, सिन्धुलीमा अहिले विद्युतीय सवारीसाधन ३२ ओटा सञ्चालनमा छन् भने योसँगै समस्या पनि आइरहेको छ। दुई/दुई महिनामा क्राउन बिग्रिन्छ। नयाँ क्राउन फेर्नुपर्दा एक लाख पचास हजार रुपियाँ खर्च हुने हुँदा डिजेल र पेट्रोलभन्दा महँगो पर्न गएको छ।

विद्युतीय सवारीसाधन मर्मतका लागि सामान नआएको र बिग्रियो भने कम्पनीले नयाँ गाडीको खोलेर हालिदिने गरेकाले खर्च बढेको उनको भनाइ छ। विद्युतीय सवारीसाधन हाल कालोपत्रे सडकमा मात्रै सञ्चालन हुँदै आएका छन्।

विद्युतीय सवारीसाधनका अर्का सञ्चालक व्यवसायी हरिकृष्ण बुढाथोकी अन्य गाडीजस्तो विद्युतीय सवारीसाधन जता पनि सञ्चालन नहुने बताउँछन्। उनले भने, “यो गाडी अन्य सवारीसाधनजस्तो कच्ची सडकमा जाँदैन। अर्को समस्या भनेको १६० किलोमिटर लामो बीपी राजमार्गको बीचमा पर्ने सुनकोसी गाउँपालिका–५, रामटार स्थित होटल मयुर र सिन्धुलीमाढीस्थित रेड चिल्ली होटलमा मात्रै चार्जिङ सेन्टर रहेकाले समस्या भएको छ।”

गाडी किन्दा कम्पनीले नै एउटा सानो चार्जर दिएकाले त्यसैले घरमा नै चार्ज गर्न मिल्ने उनले सुनाए। बीपी राजमार्गको बीच–बीचमा अरू चार/पाँचवटा चार्जिङ स्टेसन भएमा व्यवसायीलाई सहज हुने बुढाथोकीको सुझाव छ ।

सुनकोसी गाउँपालिका–५, रामटारमा एक वर्षदेखि चार्जिङ स्टेसन सञ्चालन गर्दै आएका रामहरि पौडेल बीपी राजमार्गमा अहिले ३२ ओटा विद्युतीय सवारीसाधन सञ्चालन हुँदै आएको भए पनि दैनिक बिहान गएका र बेलुका फर्किएका गरी ४१/४२ वटा सवारीसाधनमा रिचार्ज गर्दै आएको जानकारी दिन्छन् ।

विद्युतीय सवारीसाधन चार्जिङ गरेबापत प्रतियुनिट १५ रुपियाँ शुल्क लिने गरेको र यो डिजेल तथा पेट्रोलभन्दा ९९ प्रतिशत कम खर्च हुने उनको भनाइ छ । उनका अनुसार एउटा सवारीसाधन रिचार्ज गर्न आधा घण्टा समय लाग्दछ । चार्जिङ स्टेसनमा १२० किलोवाट क्षमताको चार्जर जडान गरेको भए पनि अहिले ६० किलोवाट मात्र सञ्चालन गरी तीनओटा नोजलबाट एक पटकमा तीनवटासम्म सवारीसाधन रिचार्ज हुँदै आएको छ ।

दिगो कम्पनीको ५० प्रतिशत अनुदानमा १७ लाख रुपियाँ आफूले लगानी गरी चार्जर जडान गरेको व्यवसायी पौडेलले जानकारी दिए । उनले भने, “६० किलोवाटमा पनि ३०/३० किलोवाटको नोजल जडान गरेको छु । एकै पटक ६० किलोवाट क्षमताको नोजल जडान गर्न मिल्ने भए पनि अहिले सञ्चालनमा रहेको विद्युतीय सवारीसाधनमा ४२ किलोवाट क्षमता भएकाले ३० किलोवाटको नोजल प्रयोग गर्नु परेको हो । गोरखापत्रबाट

प्रकाशित: ७ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार