काठमाडौं ।
हालै भारतको राजधानी दिल्लीमा रहेको एउटा विद्युतीय सवारी पार्किङमा आगलागी भएको छ।
उक्त आगलागीमा परेर त्यहाँ पार्किङ गरिएका १ सयभन्दा बढी इलेक्ट्रिक भेहिकल जलेर नष्ट भएका छन्। यो भीषण दुर्घटना दिल्लीमा रहेको जामिया नगर इलेक्ट्रिक मोटर पार्किङमा भएको ९१मोबाइल्सले जनाएको छ।
मिडिया रिपोर्ट अनुसार दिल्ली फायर ब्रिगेडलाई बिहान ५ बजे उक्त घटनाको सूचना प्राप्त भएको थियो। उक्त सूचना पाएपछि दमकल विभागका गाडी तुरुन्तै घटनास्थलमा पुग्दा आगोले भयानक रुप लिइसकेको समाचारमा उल्लेख छ।
उक्त आगलागी यति भयानक थियो कि त्यसलाई नियन्त्रण गर्न ११ ओटा दमकल प्रयोग गर्नुपरेको थियो।
दमकल विभागका अनुसार इलेक्ट्रोनिक मोटर पार्किङ भएको उक्त आगलागीमा १० ओटा कार, एउटा मोटरसाइकल, दुई ओटा स्कूटरसहित ३० ओटा नयाँ ई-रिक्शा र ५० ओटा पुराना ई-रिक्शा पनि पूर्णरुपमा जलेर नष्ट भएका थिए। तर उक्त घटना कुनै व्यक्तिक हताहत नभएको बताइएको छ।
बाहिर आएका फोटोहरुमा आगो निकै भयानक भएको र निकै माथिसम्म कालो धुवाँ फैलिएको थियो। आगोको अग्ला अग्ला ज्वाला र धुवाँ धेरै परबाट पनि देखिएको ९१मोबाइल्सले उल्लेख गरेको छ। तर आगलागीको कारण भने हालसम्म पत्ता लाग्न सकेको छैन। यो घटनापछि उक्त पार्किङ पूर्ण रुपमा अस्थाई बन्द गरिएको छ।
प्रकाशित: २७ जेष्ठ २०७९, शुक्रबार