टावर सञ्चालनपछि स्थानीयवासी खुसी

  • Technology Khabar | २६ जेष्ठ २०७९, बिहीबार
टावर सञ्चालनपछि स्थानीयवासी खुसी
सांकेतिक तस्बिर

काठमाडौं ।

रुकुमपूर्वको सिस्ने गाउँपालिका १ ठूलासिस्नेमा बनेको नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि सर्वसाधारण सेवाग्राही टेलिफोन सम्पर्कमा जोडिएका छन्।

साबिकको सिस्ने गाउँ विकास समिति रहेको सो वडा यसअघिसम्म टेलिफोन सम्पर्क जो डिएको थिएन । गत शनिबार देखि टावर सञ्चालनमा आएपछि आफन्तसँग संवाद तथा कुराकानी गर्न सहज भएको छ।

स्थानीय तेजेन्द्र बीसीले टेलिफोन टावरको स्थापनाले खुसी दिएको बताए। “सबैतिर फोन लागिरहेको छ। देश विदेशमा रहेकाहरूसँग कुरा गर्न पाएका छौँ,” उनले भने।

टेलिफोन टावरको अभावमा फोन सम्पर्क हुननसक्दा अर्कै गाउँमा जानुपर्ने बाध्यता अब हटेको छ। वडाध्यक्ष मानबहादुर बुढा सबै घरधुरीमा सहजै फोनको पहुँच पुगेको बताउँछन्। यस वडामा रहेका ५४१ घरधुरी सबैमा फोन चलेको वडाध्यक्ष बुढाले बताए।

उक्त टावरबाट फोरजी सेवासमेत सञ्चालित छ। यसले इन्टरनेट चलाउन र सामाजिक सञ्जालमा जोडिन थप सहज बनाएको छ।

दूरसञ्चार कार्यालय रुकुमपूर्वका प्रमुख चन्दन यादवले ढिलै भएपनि सिस्नेको टावर सञ्चालनमा आएको जानकारी दिए। लामो समयदेखिको गुनासो सम्बोधन भएको छ। यसअघि पुथा उत्तर गङ्गा गाउँपालिका–४, अर्जलमा पनि नेपाल टेलिकमको टावर सञ्चालनमा आएको थियो। गोरखापत्रबाट

प्रकाशित: २६ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...