यी स्थानहरुमा कुनै पनि बेलामा इन्टरनेट सेवा बन्द हुन सक्ने आइस्पानको चेतावनी

  • Technology Khabar | २३ जेष्ठ २०७९, सोमबार
यी स्थानहरुमा कुनै पनि बेलामा इन्टरनेट सेवा बन्द हुन सक्ने आइस्पानको चेतावनी
सांकेतिक तस्विर

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले नेपाल विद्युत प्राधिकरणको कारण विभिन्न स्थानहरुमा कुनैपनि बेला इन्टरनेट सेवा बन्द हुने चेतावनी दिएको छ ।

इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था आइस्पानले सार्वजनिक सूचनामार्फत देशभरका विभिन्न ९ स्थानहरुमा कुनैपनि बेलामा इन्टरनेट सेवा बन्द हुने चेतावनी दिएको हो।

“विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्च स्तरिय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी उल्टो दिशा तर्फ गई गैरकानुनी ढङ्गले विद्युत आपूर्ति बन्द गरिदिएको” भन्दै आइस्पानले विभिन्न जिल्लाहरुमा सेवा बन्द हुने जानकारी दिएको छ।

“हाम्रा इन्टरनेट प्वाइन्ट – डाटासेन्टर, पिओपी र दूरसञ्चार उपकरण चलिरहेका ठाउँमा घरबेटी समेतको विद्युत लाईन काट्ने कार्य निरन्तर रुपमा गरिरहेको छ। नेपाल विद्युत प्राधिकरणले निम्न स्थानमा विद्युत लाईन काट्नाले त्यहाँ ब्याकअप सिस्टमको प्रयोग भइरहेको छ। ब्याकअप सिस्टमले गर्दा मात्रै उक्त स्थानहरुमा इन्टरनेट चलिरहेको अवस्था हो,” आइस्पानले भनेको छ।

आइस्पानकाअनुसार इलाम, बिराटनगर, खोटाङ्ग, गाईघाट, इनरुवा, धरान धुवही, लहान र डोटी जिल्ला तथा स्थानहरुमा सेवा बन्द हुनसक्ने भएका छन्।

ब्याकअप सिस्टमले धान्न छोडे पछि उल्लेखित स्थानमा कुनै पनि समयमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने जानकारी गराएको छ।

उनीहरुले नेपाल सरकारको उच्च स्तरिय समितिको प्रतिवेदन अनुसार भएमा मात्र इन्टरनेट सेवा प्रदायकहरु पोल भाडा तिर्न तत्पर रहेको समेत जानकारी दिएका छन्।

यसअघि आइस्पानले विद्युत प्राधिकरणका कारण कुनैपनि बेला जुनसुकै  स्थानमा इन्टरनेट सेवा बन्द हुनसक्ने भन्दै सरोकारबालाहरु सबैको ध्यानाकर्षण गराएको थियो।

प्रकाशित: २३ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...