एक्सप्रेस भीपीएनले भारतबाट भीपीएन सर्भरहरू हटायो

  • Technology Khabar | १९ जेष्ठ २०७९, बिहीबार
एक्सप्रेस भीपीएनले भारतबाट भीपीएन सर्भरहरू हटायो

काठमाडौं ।

एक्सप्रेस भीपीएनले भारतमा भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) सर्भरहरू हटाएको बिहीबार घोषणा गरेको छ।

भारत सरकारले भीपीएन सेवा प्रदायकहरूलाई कम्तिमा पाँच वर्षसम्म प्रयोगकर्ताको डाटा राख्न र जतिबेला आवश्यक हुन्छ त्यसबेला अधिकारीहरूसँग रेकर्ड साझेदारी गर्न अनिवार्य बनाउन दिएको हालै निर्देशनहरूको प्रतिक्रियामा कम्पनीले सेवा बन्द गर्ने बताएको हो।

ब्रिटिश भर्जिन टापुमा आधारित कम्पनीले भारतको कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टोली (सर्ट-आईएन) द्वारा दिएका र जुन २७ बाट लागू हुने निर्देशनहरू “भीपीएनहरुको उद्देश्यसँग असंगत” र “ओभररिचिङ” भएको बताएको छ।

अपडेटको परिणाम स्वरूप, एक्सप्रेस भीपीएनसँग अब उप्रान्त यसको भारतीय आधारित भीपीएन सर्भरहरू हुनेछैनन्।

“तथापि, प्रयोगकर्ताहरूले अझै पनि भीपीएन सर्भरहरूमा कनेक्ट गर्न सक्षम हुनेछन् जसले उनीहरूलाई भारतीय आईपी ठेगानाहरू दिनेछ र उनीहरू भारतमा अवस्थित भए जस्तै इन्टरनेटमा कनेक्ट हुनेछन्,” कम्पनीले एक ब्लग पोस्टमा भन्यो।

“भर्चुअल” भारतीय भीपीएन सर्भरहरू भौतिक रूपमा देशमा अवस्थित हुनेछैन् र यसको सट्टा सिंगापुर र बेलायतमा उपलब्ध हुनेछन्,” कम्पनीले उल्लेख गरेको छ।

“भारतमा रहेका इन्टरनेट प्रयोगकर्ताहरूका लागि, उनीहरूले आफ्नो अनलाइन ट्राफिक लगइन वा भण्डारण गरिएको छैन, र यो उनीहरूको सरकारले अनुगमन गरिरहेको छैन भन्ने कुरामा विश्वस्त भएर एक्सप्रेस भीपीएन प्रयोग गर्न सक्छन्,” कम्पनीले थप भनेको छ।

कम्पनीले अप्रिलको अन्त्यमा जारी गरेको सरकारको आदेश “सम्भावित दूरुपयोगको लागि सञ्जाल खोल्नको लागि धेरै व्यापक र फराकिलो” भएको बताएको छ।

निर्देशनको विवरण दिँदै, सर्ट आईएनले देशमा साइबर अपराध र साइबर सुरक्षा घटनाहरू सीमित गर्न मद्दत गर्ने उद्देश्य रहेको बताएको थियो।

एक्सप्रेस भीपीएनले कानून भीपीएनको उद्देश्यसंग असंगत भएको भन्दै सो प्रयोगकर्ताहरूको अनलाइन गतिविधि गोप्य राख्न डिजाइन गरिएको बताएको छ।

एक्सप्रेस भीपीएनले ब्राउजिङ इतिहास, ट्राफिक गन्तव्य, डाटा सामग्री, वा डीएनएस क्वेरीहरूसहित प्रयोगकर्ता गतिविधिको लगहरू सङ्कलन गर्ने छैन भनेर पनि आश्वासन दियो। सेवा प्रदायकले आईपी ठेगानाहरू, बहिर्गमन भीपीएन आईपी ठेगानाहरू, कनेक्ट टाइमस्ट्याम्पहरू, वा सेसन अवधिहरू सहित कनेक्ट लगहरू कहिल्यै भण्डारण नगरेको बताएको छ।

प्रकाशित: १९ जेष्ठ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार