
काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत दूरसञ्चार सेवामा लाग्दै आएको दूरसञ्चार सेवा दस्तुरमा ३ प्रतिशत कटौती गर्ने घोषणा गरेको छ।
यसले इन्टरनेट सेवा सस्तो हुने अपेक्षासहित दस्तुर घटाएको अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत घोषणा गरेका छन्।
तर उनले घोषणा गरेजस्तो भने नहुने देखिएको छ। सरकारले आगामी आर्थिक वर्षदेखि इन्टरनेटको शुल्क घट्ने दाबी गरिरहँदा सो दस्तुर कटौतीले सेवाग्राहीलाई केवल १७ रुपैयाँ मात्र सहुलियत हुने भएको छ।
इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले हालै प्रेस विज्ञप्तिमार्फत अहिलेको अवस्थामा करिब १७ रुपैयाँ मात्र शुल्क घट्न सक्ने उल्लेख गरेको छ।
आइस्पानले सरकारलाई दूरसञ्चार सेवा शुल्क ३ प्रतिशत घटाउने घोषणा गरिएकोमा धन्यवाद दिँदै त्यसले ग्राहकहरुलाई भने धेरै ठूलो लाभ नहुने उल्लेख गरेको छ।
आइस्पानले औसत मूल्यको उदाहरणसहित हालको अवस्थामा १६ रुपैयाँ ९५ पैसा अर्थात करिब १७ रुपैयाँ मात्र घट्ने जानकारी गराएको छ।

प्रकाशित: १७ जेष्ठ २०७९, मंगलवार