फेसबुक र इन्स्टाग्राममा यस वर्ष कर्मचारी भर्ती नहुने, खर्च घटाउन मेटाले गर्यो रणनीतिक परिवर्तन

  • Technology Khabar | २३ बैशाख २०७९, शुक्रबार

काठमाडौं ।

सामाजिक सञ्जाल साइट फेसबुकको मूल कम्पनी फेसबुकले खर्च कटौती गर्ने रणनीतिमा ठूलो परिवर्तन गरेको छ। कम्पनीको आन्तरिक नोटलाई उद्धृत गर्दै मेटाले यो वर्ष कर्मचारी भर्ती लक्ष्यमा ठूलो कटौती गर्दै नयाँ भर्ना रोकेको जनाएको छ।

बिजनेश इनसाइडरमा प्रकाशित रिपोर्टकाअनुसार, कर्मचारीहरूलाई एक आन्तरिक मेमोमा, फेसबुकका मुख्य वित्तीय अधिकारी (सीएफओ) डेभिड वेहनरले खर्च कटौतीसँगै कम्पनीले आफ्नो रणनीति पनि परिवर्तन गरिरहेको बताएका छन्।

“रुस-युक्रेन युद्ध, डाटा गोपनीयतामा परिवर्तन र उद्योगमा भइरहेको सुस्तताका कारण हाम्रो व्यवसाय नराम्ररी प्रभावित भएको छ। फेसबुकको त्रैमासिक नतिजा पनि अपेक्षाभन्दा कम आएको छ। त्यसैले खर्च घटाउनलाई प्राथमिकता दिँदै अहिले नयाँ भर्नामा प्रतिबन्ध लगाइएको र आगामी दिनमा पनि त्यसको लक्ष्य कटौती गरिनेछ,” उनले भनेका छन्।

आन्तरिक हस्तान्तरणमा जोड दिइने

डेभिडले भने, “हामी सन् २०२२ मा प्रवेश गरेका छौं, जहाँ हामीले द्रुत वृद्धिको लक्ष्य राखेका छौं। तर, अहिलेको अवस्था हेर्दा हामीले पहिलो हाफमा लक्ष्य अलिक घटाउनुपर्नेछ। यसले आगामी केही समयको लागि भर्ती प्रक्रियालाई असर गर्नेछ र कम्पनीको प्रत्येक टोलीलाई असर गर्नेछ। ”

मेटाले यस वर्ष अप्रिलमा कुनै पनि इन्जिनियरहरू भर्ना नगर्ने यसअघि मिडिया रिपोर्टमा भनिएको थियो, जसमा ई३ र ई४ स्तरका इन्जिनियरहरू समावेश हुनेछन्।

फेसबुकले गत साता खर्च घटाउने घोषणा गरेको थियो। कम्पनीले आफ्नो कुल खर्च ९२ अर्ब डलरमा सीमित गर्ने बताएको थियो, जुन यसअघि ९५ अर्ब डलर हुने योजना थियो । कम्पनीको सेयर हाल २१३ डलरको मूल्यमा कारोबार भइरहेको छ भने २०२२ सालमा नै ४० प्रतिशतले ठूलो गिरावट आएको छ ।

प्रकाशित: २३ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया