वैदेशिक रोजगारीको संस्थागत श्रम स्वीकृती आजदेखि अनलाइनबाट मात्रै हुने

  • Technology Khabar | २ बैशाख २०७९, शुक्रबार
वैदेशिक रोजगारीको संस्थागत श्रम स्वीकृती आजदेखि अनलाइनबाट मात्रै हुने

काठमाडौं ।

वैदेशिक रोजगार विभागले आज शुक्रबारदेखि वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) अर्थात संस्थागत अन्तिम श्रम स्वीकृतीलाई अनलाइनबाट मात्र दिन शुरु गरेको छ।

वैदेशिक रोजगार कार्यालयमा अनावश्यक हस्तक्षेप र भीडभाड बढेपछि संस्थागत (म्यानपावर)मार्फत लिने अन्तिम श्रम स्वीकृतीलाई विभागले अनलाइन गरेको हो।

यो सेवा अनलाइन भएपछि मासिक औसत ४० हजार श्रमिकले विभागको कार्यालय नै नगई अनलाइनबाटै श्रमस्वीकृति सेवा लिन सक्नेछन्। विभागले यसअघि माघ २ गतेदेखि पुनः श्रम स्वीकृति पूर्णरूपमा अनलाइनमा आधारित गरिसकेको छ।

श्रम स्वीकृतिका सबै प्रक्रिया अनलाइनमार्फत भइसकेको हुँदा संस्थागत अन्तिम श्रमस्वीकृति पनि अनलाइन नै गर्ने तयारी भएको विभागले जनाएको छ।

संस्थागत रूपमा गरिँदै आएको पूर्व र अन्तिम श्रम स्वीकृति पनि अनलाइन गरिएसँगै सेवाग्राही सेवा लिन कार्यालय आउनु नपर्ने भएको हो।

हाल म्यानपावर कम्पनीका प्रतिनिधि पूर्व र अन्तिम श्रमस्वीकृतिका लागि फाइल बोकेर विभागमा नै जानुपर्ने अवस्था रहेको छ। संस्थागत श्रम स्वीकृतिका लागि दूतावासले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मार्फत अपलोड गरी पठाएको मागपत्र अनलाइन गरेपछि विभागले नै पूर्व र अन्तिम श्रम स्वीकृति दिनेछ।

यसका साथै विभागले सूचनामार्फत कुनैपनि सेवाग्राही वा म्यानपावर कम्पनीका प्रतिनिधिको भौतिक उपस्थिति बिना नै सबै प्रक्रिया अनलाइनबाटै हुने भन्दै कार्यालयमा अनावश्यकरुपमा म्यानपावर कम्पनीका प्रतिनिधि वा कर्मचारीको उपस्थिति देखिएमा कारबाही गर्ने समेत चेतावनी दिएको छ।

पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार मासिक औसत १५ हजार श्रमिकले संस्थागत रूपमा श्रम स्वीकृति लिने गरेको देखिन्छ। हाल विभागले व्याक्तिगत, वैधानिकीकरण, नयाँ र संस्थागत रूपमा श्रम स्वीकृति जारी गर्दै आएको छ।

विभागले यसको लागि https://feims.dofe.gov.np/Common-Login.aspx वेबलिंकमा गएर सेवा लिन सकिने जनाएको छ।

प्रकाशित: २ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार