
काठमाडौं ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको हबल स्पेस टेलिस्कोपले धेरै तस्विर खिचेर वैज्ञानिकहरुलाई चकित बनाएको छ। यसले आश्चर्यजनक खोजहरूमा मद्दत गरेको छ। अब यो टेलिस्कोपले अन्तरिक्षमा गहिरो धुलोको पछाडि सक्रिय ब्ल्याक होलको तस्विर खिच्न सफल भएको छ।
यो ब्ल्याक होल स्पाइरल (सर्पिल) ग्यालेक्सी – एनजीसी ७१७२मा अवस्थित छ। यो धेरै पुरानो नक्षत्र पिस्किस अस्ट्रिनसमा अवस्थित छ, जुन पृथ्वीबाट करिब ११ करोड प्रकाश-वर्ष टाढा छ। गाढा कालो धुलो आकाशगंगाको केन्द्रबाट जान्छ र यसको उज्यालो केन्द्रलाई धमिलो पार्छ। कालो धुलोका कारण एनजीसी ७१७२ सामान्य सर्पिल ग्यालेक्सी भन्दा बढी नदेखिने नासाले जनाएको छ।
जब धुलो र ग्यास आकाशगंगाको केन्द्रमा रहेको सुपरम्यासिभ ब्ल्याक होलमा खस्छ, यसले उज्यालो प्रकाश उत्पन्न गर्छ। नासाका वैज्ञानिकहरूले पनि एनजीसी ७१७२ सेफर्ट ग्यालेक्सी भएको थाहा पाएका छन्।
सेफर्ट ग्यालेक्सी सानो, उज्यालो, डट-जस्तो न्यूक्लियस भएको सर्पिल आकारको आकाशगंगा हो। उसले आफ्नो चम्किलोपना परिवर्तन गर्छ। यस्तो आकाशगंगाले अन्य आकाशगंगाहरू भन्दा बढी विकिरण उत्पादन गर्न सक्छ। सेफर्ट (Seyfert) ग्यालेक्सीको नाम अमेरिकी खगोलविद् कार्ल के. सेफर्टको नामबाट पछि नामाकरण गरियो। उनले सन् १९४४ मा पहिलो पटक यस वर्गको आकाशगंगातर्फ विश्वको ध्यानाकर्षण गराएका थिए।
हबल स्पेस टेलिस्कोपले दुई उपकरणको सहायताले यो तस्बिर खिच्यो। यसमा एडभान्स्ड क्यामरा फर सर्भेज र वाइड फिल्ड क्यामरा ३ समावेश छन्। दुवैको तथ्यांक मिलाएर यो तस्वीर बाहिर आएको हो।
हबल टेलिस्कोप अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) को संयुक्त परियोजना हो। यो टेलिस्कोपले ३० वर्षभन्दा बढी समयदेखि अन्तरिक्षका लुकेका रहस्यहरू उजागर गर्दै आएको छ। यो टेलिस्कोपले अहिलेसम्म १३ लाखभन्दा बढी अवलोकन गरिसकेको छ।
प्रकाशित: २७ चैत्र २०७८, आईतवार