
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका ७५३ स्थानीय तहहरुमा नै सूचना प्रविधि केन्द्र अर्थात आईसिटी सेन्टर निर्माण गर्ने भएको छ।
केहि साताअघि सबै स्थानीय तहहरुमा सूचना प्रविधि केन्द्र स्थापना गर्नका लागि अनुरोध गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्राधिकरणलाई पत्र पठाएको थियो। सोहि आधारमा प्राधिकरणले देशभर आईसिटी सेन्टर निर्माण गर्न लागेको हो।
यसअघि स्थानीय तहमा टेलिफोन तथा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार तथा विद्युतीय सुशासन स्थानीकरण गर्ने कार्यका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणबीच संस्थागत सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा मिति पुस १ गते हस्ताक्षर भएको थियो। सोहि समझदारीको आधारमा नै प्राधिकरणलाई मन्त्रालयले देशभर सूचना प्रविधि केन्द्र स्थापना गरिदिन पत्र पठाएको थियो।
प्राधिकरणले आगामी दिनमा स्थानीय तहको सहभागीता हुने गरी सूचना प्रविधि केन्द्र स्थापना गरिने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए।
“हामीलाई सङ्घीय मामिला मन्त्रालयले अनुरोध गरेको थियो र सोहिअनुसार प्रक्रिया अगाडि बढाएका छौं। सञ्चार मन्त्रालयसँग उपकरणहरुको मापदण्डको बारेमा अनुमतिको प्रक्रियामा रहेको छ,” अध्यक्ष खनालले टेक्नोलोजीखबरसँग केहि दिन अघि भने।
उनकाअनुसार यसमा पनि हालको स्थानीय तहमा ब्रोडब्याण्ड बिस्तारकै शैली र प्रक्रियालाई पालना गरिनेछ।
“हामीले केन्द्रका लागि आवश्यक उपकरण र प्रविधिको मापदण्ड र स्पेशिफिकेसन तोकिदिनेछौं र स्थानीय तहहरुले आफैंले टेण्डर गरेर खरिद गर्नेछन्। यसमा स्थानीय तहको सहभागीता हुने र विवादसमेत हुँदैन्,” उनले भने।
हाल प्राधिकरणले देशभरका स्थानीय तहहरुमा ब्रोडब्याण्ड कनेक्सन अपग्रेड गर्ने र पहुँच पुर्याउनका लागि स्थानीय तहले टेण्डरमार्फत छानेको इन्टरनेट सेवा प्रदायकको लागि अनुदान सेवा शुल्क दिँदै आएको छ।
प्राधिकरणका एक अधिकारीले केन्द्रमा राखिने उपकरणहरुको मापदण्ड र स्पेशिफिकेसनको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट स्वीकृति नआईसकेको जानकारी दिए।
स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापनाले सर्वसाधारणलाई आवश्यक पर्ने सूचना प्रविधि र सेवामा सहज हुने बताईएको छ। यस्तो आईसिटी सेन्टरमा सर्वसाधारणले पहुँच पाउने र स्थानीय तहमा आवश्यक पर्ने सेवा सुबिधामा सहजीकरण गर्न सकिने बताईएको छ। आईसिटी सेन्टरको संचालन र व्यवस्थापन पनि स्थानीय तहको जिम्मा हुनेछ।
प्रकाशित: २१ चैत्र २०७८, सोमबार