नेपाल टेलिकमको बोनस शेयरको निर्णय चौधरी ग्रुपको लागि !

  • Technology Khabar | ७ चैत्र २०७८, सोमबार
नेपाल टेलिकमको बोनस शेयरको निर्णय चौधरी ग्रुपको लागि !
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भद्रकाली प्लाजामा रहेको मुख्यालय। फाइल तस्बिर

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) को बोनस शेयर दिने निर्णय र विवादमा “इन्साइडर ट्रेडिङ” भएको तथ्यांकमा देखिएको छ। बोनस शेयर पारित गर्ने प्रस्ताव र निर्णय चुहिएसँगै ठूला कारोबारीहरुले नेपाल टेलिकमको शेयरमा ठूलो चलखेल गरेको तथ्यांकमा देखिएको हो।

सरकारी बहुमत शेयर रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको फागुन ३० गते बसेको बोर्ड बैठकले प्रत्येक १०० कित्ता शेयर बराबर २० कित्ताको अनुपातमा बोनस शेयर र प्रति शेयर २० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको थियो।

बोनस शेयर दिने निर्णयको बारेमा यसअघिका बोर्ड बैठकहरुमा पनि अनौपचारिकरुपमा छलफल भएको र सोहि आधारमा ठूला शेयर खेलाडीहरुले भित्री सूचना लिएर ठूलो मात्रामा शेयर कारोबार गरेको देखिएको बताईएको छ।

टेलिकमको बोर्डले फागुन ३० गते बोनस शेयरको निर्णय गरेपनि कम्पनीमा यो विषय अनौपचारिकरुपमा फागुन १२ गतेदेखि नै प्रवेश पाएको बताईएको छ। त्यसैगरी सो बारेमा फागुन २५ गतेको बोर्डमा पनि प्रस्ताव गएको र सो जानकारी ठूला र नजिकका शेयर कारोबारीहरुलाई बाहिर चुहाईएको जानकार स्रोतले दाबी गरेको छ।

लगानीकर्ताहरुका संघ/संगठनका नेता लगानीकर्ताहरुले पनि नेपाल टेलिकममा “इन्साइडर ट्रेडिङ” भएको भन्ने घुमाउरो रुपमा स्वीकारेका छन्।

शेयर बजारका ब्रोकरहरुबाट टेक्नोलोजीखबरलाई प्राप्त संकलित तथ्यांक हेर्दासमेत सो अवधिमा लाखौं शेयर कित्ता कारोबार भएको देखिन्छ। जसअनुसार स्रोतहरुले  समेत इन्साइडर ट्रेडिङ नै भएको दाबी गरेका छन्।

सो अवधि भित्र कारोबार भएको मध्ये सबैभन्दा धेरै शेयर कारोबार सारिका चौधरीको नाममा भएको देखिन्छ।

शेयर बजार सम्बन्धित स्रोतले टेक्नोलोजीखबरलाई उपलब्ध गराएको तथ्यांक र उपलब्ध जानकारीहरुकाअनुसार सारिका चौधरीको नाममा सबैभन्दा धेरै शेयर कारोबार भएको देखिएको हो।

प्राप्त तथ्यांक हेर्दा उनले फागुन १२ गतेपछिको सो अवधि भित्रमा मात्रै करिब ३ लाख कित्ता भन्दा धेरै शेयर किनेको देखिन्छ। उनको नाममा फागुन २६ गतेसम्म ५ लाख ३० हजार कित्ता शेयर रहेको छ तर फागुन १२ अगाडी उनीसँग करिब २ लाख २७ हजार कित्ता मात्र शेयर रहेको थियो।

उनको नाममा यसअघिसम्म टेलिकममा कुनै शेयर नदेखिएको स्रोतको दाबी छ।

“गतवर्षको एजीएमसम्म सारिका चौधरीको नाम कतै देखिँदैन र पछिल्लो छोटो समयमा उनले अचानक ठूलो संख्यामा शेयर किनेको देखिन्छ,” स्रोतले दाबी गर्यो।

नेपाल टेलिकमको शेयर किनबेच गर्ने एक लगानीकर्ताले सो शेयर खरिद कारोबार सीजी ग्रुपका विनोद चौधरीकी श्रीमती नाममा भएको दाबी गरे।

“सीजी ग्रुपको अध्यक्षको श्रीमतीको नाममा खरिद भएको देखिएको छ। ठूला शेयर कारोबारी भएको हुँदा के कसरी शेयर खरिद बिक्री भयो भनेर भन्न सकिँदैन्। अचानक एकैपटक धेरै शेयर किन्दा आशंका उब्जिएको हो,” ती लगानीकर्ताले भने।

त्यसैगरी सो अवधिमा ठूलो संख्यामा नेपाल टेलिकमको शेयर अन्य केहि व्यक्तिहरुले समेत किनेको देखिन्छ। जसअनुसार फागुन १४ गतेपछि रवि केसीको नाममा १ लाख ७३ हजार कित्ता शेयर खरिद भएको छ। उनी सूर्या नेपालका भाइस प्रेसिडेन्ट भएको स्रोतको दाबी छ।

यस बाहेक सोहि अवधिको बिचमा व्यवसायी रविन्द्र श्रेष्ठको नाममा करिब ५५ हजार कित्ता शेयर खरिद भएको छ भने आशिष पोखरेल भन्ने व्यक्तिको नाममा ५२ हजार कित्ता शेयर खरिद गरिएको देखिन्छ।

यस्तो छ ब्रोकर नम्बर ५८ को स्पष्टिकरण

सो अवधिमा नेपाल टेलिकमको शेयर काराेबार ठूलो संख्यामा गरेकाे भनिएको नासा सेक्यूरिटीज (ब्रोकर नम्बर ५८) का मदन पौडेलले आफ्नो एजेन्सीबाट नेपाल टेलिकमको धेरै स‌ंख्यामा शेयर कारोबार भएको स्वीकार गर्दै कुन लगानीकर्ताले कति र के उद्देश्यले शेयर किन्छ भनेर थाहा नहुने बताए।

“हामीले लगानीकर्ताहरुलाई शेयर किनबेचमा सहयोग गर्ने मात्रै हो। हामीलाई कुन लगानीकर्ताले के उद्देश्य र जानकारीले खरिद बिक्री गर्यो भन्ने थाहा हुँदैन्,” उनले टेक्नोलोजीखबरलाई भने, “यसअघि देखि नै लगानीकर्ताहरुले टेलिकमको धेरै शेयर कारोबार गरिरहेका थिए। हामीले पनि पछि मात्र कारोबारको जानकारी पाउने हो।”

तपाईँको ब्रोकर एजेन्सीबाट शेयर किन्नेहरुलाई “इन्साडर इन्फर्मेशन” थियो भन्ने आरोप लगाईएको छ नि भन्ने प्रश्नमा उनले भने, “कसले के सूचना र जानकारीको आधारमा शेयर किन्छ भन्ने हामीलाई थाहा हुँदैन्। हामीलाई यस्तो कुनै कुरा थाहा हुँदैन र जानकारी कसैलाई दिने पनि गर्दैनौं। यी सबै गलत कुराहरु हुन्।”

उनले बोनस शेयर दिने नाममा कसैले टेलिकमको शेयर किनेको भएपनि कुनै फाइदा भएको नदेखिएको अनुमानसमेत गरे। “बजार ट्रेण्डलाई फलो गरेर शेयर किनेको हुनसक्छ। कसैले भने पोर्टफोलियो डाइभर्सिफिकेसन गरेको हुनसक्छ,” पौडेलले भने।

तर एक ब्रोकरले भने सो अवधिमा धेरै कारोबार गर्ने सारिका चौधरी भन्ने व्यक्ति चौधरी ग्रुपको अध्यक्ष विनोद चौधरीको श्रीमती नै भएको दाबी गरे।

“तपाईँले भन्नु भएको व्यक्ति उनै हुन्। यस बाहेक पनि अन्यले ठूलो कारोबार गरेको सुनिएको छ,” उनले भने।

उता नेपाल टेलिकमका अधिकारीहरुले भने कुनैपनि शेयर लगानीकर्ताहरुको बिबरण गोप्य हुने भन्दै जानकारी दिन नमिल्ने बताए।

त्यसैले यस बारेमा हामीले थप पुष्टि गर्न सकेनौं।

यी हुन नेपाल टेलिकमको धेरै शेयर भएका व्यक्तिहरु

यस बाहेक नेपाल टेलिकमका ठूला शेयरधनीहरुमा भाटभटेनी समूहका मिनबहादुर गुरुङको नाममा ५ लाख ७० हजार कित्ता शेयर छ भने उनको श्रीमती शावित्री गुरुङको नाममा करिब साढे ३ लाख कित्ता र भाटभटेनीको नाममा नै २ लाख ८० हजार कित्ता शेयर रहेको स्रोतले उल्लेख गरेको छ।

यसका साथै लक्ष्मी बैंकको नाममा २ लाख कित्ता र प्राइम लाइफ इस्न्योरेन्सको नाममा १ लाख कित्ता शेयर रहेको देखिन्छ।

त्यसैगरी हालसालै कैलाश सिरोहियाको नाममा समेत थप शेयर किनेर नेपाल टेलिकमको ५० हजार कित्ता भन्दा धेरै शेयर पुर्याईएको स्रोतले जानकारी दियो।

बजारमा नियमित कारोबार गर्ने एक शेयर कारोबारीले ठूला खेलाडीहरुले बजारलाई नै प्रभावित पार्ने गरेको हुँदा यसमा पनि इन्साइडर ट्रेडिङ्ग गरेको आशंका व्यक्त गरे।

“शेयर कारोबार गर्नेहरुले भित्री जानकारी नपाई अचानक कारोबार गर्दैनन्। त्यसमाथि एउटै ब्रोकरबाट एकैपटक ठूला कारोबार भएको छ। मैले पनि त्यहि ब्रोकरबाट कारोबार गर्छु तर हामी साना लगानीकर्ता हुँदा बजारको आधारमा मात्र कारोबार गर्दछौं,” उनले नाम उल्लेख नगर्ने शर्तमा भने।

नेपाल स्टक एक्सचेन्जमा प्लोरसिट हेर्दा समेत पछिल्लो समयमा ब्रोकर नम्बर ५८ बाट ठूलो परिमाणमा नेपाल टेलिकमको सेयर खरिद गरेको देखिन्छ।

धितोपत्र बोर्डमा परेको उजुरी छानबिन हुँदै

यसैबिच नेपाल टेलिकमको शेयरमा इन्साइडर ट्रेडिङ्ग भएको बारेमा नेपाल धितोपत्र बोर्डमा समेत उजुरीहरु परेका छन्।

सो बारेमा उजुरीहरु परेको र छानबिन हुँदै गरेको बोर्डकी डेपुटी एक्जुकेटिभ डाइरेक्टर तथा सूचना अधिकारी दिपा दाहालले जानकारी दिईन् ।

“बोर्डमा टेलिकमको बारेमा ५/६ ओटा नै उजुरीहरु आएका छन् र बोर्ड अध्ययन गरिरहेको छ,” सूचना अधिकारी दाहालले भनिन्, “हाम्रो गुनासो तथा उजुरी शाखाले त्यस बारेमा अध्ययन गरिरहेको छ। त्यस बारेमा सम्बन्धित कम्पनी र निकायहरुलाई समेत सोधेर जानकारी तथा छानबिन गर्नेछ।”

एउटै कम्पनीको बारेमा धेरै उजुरी पर्दा बोर्डले संवेदनशिल र गंभिर भएर अनुसन्धान गर्ने उनले बताईन्।

के छ टेलिकम बोर्डको बोनस बारेको निर्णय ?

टेलिकमले बोर्डमार्फत आर्थिक वर्ष २०७७/७८को वार्षिक प्रतिवेदन वार्षिक साधारण सभामा छलफल गरेर पारित गर्ने प्रस्ताव गरेको छ भने अर्थ मन्त्रालयबाट स्वीकृत भए पश्चात् कम्पनीको आ.व. २०७७/७८ को मुनाफा रकम मध्येबाट कम्पनीका शेयरधनीहरूलाई प्रत्येक १०० कित्ता शेयर बराबर २० कित्ताको अनुपातमा बोनस शेयर जारी गरी कम्पनीको जारी तथा चुक्ता पुँजी अठार अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्ने गरी निर्णय गरेको छ।

यसका साथैअर्थ मन्त्रालयबाट स्वीकृत भए पश्चात् आ.व. २०७७/७८ को कम्पनीको मुनाफा रकम मध्येबाट शेयरधनीहरूलाई प्रति शेयर रु. २०।– का दरले नगद लाभांश (बोनस शेयरमा लाग्ने लाभांश कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्ने निर्णय समेत गरेको छ।

पढ्न सिफारिस –

बोनस शेयरको असर: लगातार दोस्रो दिन नेपाल टेलिकमको शेयर सबैभन्दा धेरै गुमाउनेमा

नेपाल टेलिकममा ९१.४९ प्रतिशत स्वामित्व नेपाल सरकारको रहेको छ भने बाँकी कर्मचारीहरु र अन्य सर्वसाधारण लगानीकर्ताको शेयर रहेको छ।

बोर्डले पास गरिसकेको टेलिकमको बोनस र लाभांश दिने प्रस्ताव हाल स्वीकृतिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयमा फाइल पुगिसकेको छ। त्यहाँबाट स्वीकृत भएपछि गत आर्थिक वर्ष ०७७/०७८ सम्मको सञ्चित मुनाफाबाट वितरण गर्नेगरी प्रस्ताव गरिएको सो लाभांश चैत २४ गते बस्ने कम्पनी साधारण सभाबाट पारित गर्नुपर्नेछ।

यो पनि हेर्नुस्-

राजपत्रमा राय दिनु नपर्ने प्राधिकरण बोर्डको निर्णय, तुहियो सीजीले मोबाइल लाइसेन्स पाउने संभावना

प्रकाशित: ७ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...