काठमाडौं ।
नेपालमा आयात हुने वस्तुहरुमध्ये मोबाइल फोनको आयातले कुल २.४७ प्रतिशत हिस्सा ओगटेको तथ्यांकले देखाएको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को माघ मसान्तसम्म नेपालमा मोबाइल फोन आयात संख्याको आधारमा प्रमुख १० आयात हुने वस्तुहरुमध्ये ७ औं स्थानमा रहेको छ।
भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठी, २०७८ मा विभागका उपमहानिर्देशक आनन्द काफ्लेले दिएको तथ्यांकअनुसार माघ मसान्तसम्म २८ अर्ब ३८ करोड ५६ लाख रुपैयाँ बराबरको मोबाइल फोनहरु भित्रिएको उल्लेख छ।
आयात सूचीमा मोबाइल फोनले प्रमुख १० वस्तुहरु मध्येको स्थान ओगटेसँगै सबैभन्दा धेरै राजस्व आम्दानी गर्ने वस्तुको सूचीमा समेत परेको छ।
तथ्यांकअनुसार मोबाइल फोन आयातबाट सरकारले उच्च राजस्व आर्जन गरेको र यो वस्तु राजस्व सूचीको ९ औं स्थानमा परेको छ।
सरकारले मोबाइल फोन आयातबाट मात्रै माघ मसान्तसम्म ४ अर्ब ४९ करोड १२ लाख रुपैयाँ राजस्व आर्जन गरेको तथ्यांकमा उल्लेख छ।

यसैबिच विभागले आयोजना गरेको गोष्ठीमा दिईएको जानकारीअनुसार भन्सार सेवाका लागि आवश्यक कागजातहरु अनलाइनमार्फत पेश गर्न सकिने योजना अझै हुन सकेको छैन्।
त्यस्तै विद्युतीय भूक्तानी सेवा शुरु भएपनि सुधारका लागि अन्य निकायको सहयोग आवश्यक रहेको औंल्याईएको छ भने भन्सारमा भेहिकल स्क्यानिङ्ग मेसिनको व्यवस्था समेत हुनुपर्ने विषय गोष्ठीमा औंल्याईएको छ।
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले भन्सार कार्यालयहरुमा प्रयोग हुने भेहिकल स्क्यानिङ सम्बन्धि निर्देशिका बन्दै गरेको र चाँडै कार्यान्वयनमा आउने जानकारी दिएका थिए। व्यापारलाई सहजीकरण गर्दै राजस्व परिचालनमा अगाडी बढ्न सबै कर्मचारीलाई उनले निर्देशन दिए। माघ मसान्तसम्मको लक्ष्य भन्दा बढी भन्सार राजस्व परिचालन गरेकोमा अर्थमन्त्रीले खुसी व्यक्त गरे।
प्रकाशित: २९ फाल्गुन २०७८, आईतवार