
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारीहरुलाई निष्ठा र प्रतिबद्धताका साथ अघि बढ्न आग्रह गरेका छन्।
मन्त्री कार्कीले प्राधिकरणको २४ औं वार्षिकोत्सवका अवसरमा बोल्दै २४ वर्षदेखि यसले नेपालको दूरसञ्चार क्षेत्रको नियमन र सेवा प्रवाहको प्रभावकारिता वृद्धि गर्न पुर्याएको योगदानका लागि धन्यवाद पनि दिए।
स्थापनाका बेला नेपालमा परम्परागत टेलिफोन सेवा मात्र रहेकोमा हाल यस क्षेत्रमा भएका विकासले दूरसञ्चार क्षेत्रको स्वरुप नै बदलेको उनको भनाई थियो।
मन्त्री कार्कीले नेपाल सरकारको डिजिटल नेपालको अवधारणा कार्यान्वयनमा ल्याई सोही प्रकारको क्रियाकलापमा डिजिटल प्रविधिको उपयोग गर्न तथा गराउन पनि प्राधिकरणले अहम् भूमिका खेल्न सक्ने र खेल्नु पर्नेमा जोड दिए।
प्राधिकरणसँग भएको ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोग गरी मुलुकको सबै भागमा सुलभ सेवा उपलब्ध गराउन, दूरसञ्चार पूर्वाधारको विकास गर्न तथा सेवा प्रवाह गराउन प्राधिकरण अघि बढोस् भन्ने उनले आग्रह गरे।
यसबाहेक सेवा प्रदायकहरुको गुणस्तर, लागत र सेवाको अनुगमन गरी सेवाग्राहीलाई निर्दिष्ट सेवा प्रदान गराउन प्राधिकरण अग्रसर हुनुपर्ने पनि मन्त्री कार्कीको भनाई थियो।
*सम्पादित फोटो
प्रकाशित: २० फाल्गुन २०७८, शुक्रबार