
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्रको आवेदन अनलाइन प्रणालीमार्फत् पनि गर्न सकिने ब्यवस्था गरेको छ।
नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले नागरिक बचतपत्रको प्राथमिक बिक्री प्रक्रिया (दोस्रो संशोधन २०७८) जारी गर्दै अनलाइन प्रणालीमार्फत् पनि गर्न आवेदन गर्न सकिने ब्यवस्था गरेको हो।
राष्ट्र बैंकका अनुसार इच्छुक खरीदकर्ताले नागरिक बचतपत्र खरीद गर्नको लागि अनुसूची–१ बमोजिमको दुई प्रति आवेदन फारम र अनुसूची–२ बमोाजिमको स्व–घोषणा फारम भरी राष्ट्र बैंकको वेबसाइट अन्तर्गत मनिटरी म्यानेजमेन्ट (Monetary Management) भित्र रहेको अनलाइन प्रणालीमार्फत पेश गर्न सकिन्छ।
नागरिक बचतपत्र बिक्रीको लागि मौद्रिक व्यवस्थापन विभागबाट निश्चित अवधि तोकी बिक्री खुला गरिन्छ। खरीदकर्ताले सोही अवधिभित्र खरीदको लागि आवेदन दिनु पर्छ। जो कोहि नेपाली नागरिकले आवेदन दिन सक्छन्। राष्ट्र बैंकले बचतपत्रमा ब्याज प्रदान गर्छ।
नागरिक बचतपत्रको दोस्रो बजार कारोबार अर्थात बचतपत्रको शुरु निष्काशन पछिको खरीद–बिक्री कारोबार बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्था (शाखा कार्यालयहरुबाट समेत) र नेपाल राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयहरु मार्फत गर्न सकिने जनाएको छ।
प्रकाशित: १९ फाल्गुन २०७८, बिहीबार