क्रिप्टो, हाइपर फण्डलगायतको कारोबार चुनौती भएको अर्थमन्त्री शर्माको भनाई

  • Technology Khabar | २७ माघ २०७८, बिहीबार
क्रिप्टो, हाइपर फण्डलगायतको कारोबार चुनौती भएको अर्थमन्त्री शर्माको भनाई

काठमाडौं ।

नेपालमा पछिल्लो समय देखिएको क्रिप्टो, हाइपर फण्डलगायतमा गरिएको लगानी र कारोबार चुनौती भएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।

उनले आज बिहिबार अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिक मूल्याङ्कन तथा समीक्षा कार्यक्रममा बोल्दै प्रविधिको प्रयोग गरी भइरहेका क्रिप्टो, हाइपर फण्ड, अनलाइन गेमिङ्गलगायतका अवैध कारोबार चुनौतीको रूपमा आएको बताए ।

उनले यिनको प्रभावकारी नियमन र अनुगमन गरी वैदेशिक मुद्रा विचलन हुनबाट रोक्न कडाई गरिने बताए।

“हाइपर फण्ड, बेटिङ, गेमिङ, क्रिप्टोकरेन्सीलगायतका कुराहरू आएका छन् । हाम्रो कानुन एकातिर छ, अर्कातिर तिनको कारोबार भइरहेका छन् । विभिन्न प्रविधिका माध्यमबाट आज ‘क्यापिटल फ्लाई’ भइरहेको छ । हिजो एक ढङ्गले हुन्थ्यो भने आज अर्को ढङ्गले भइरहेको छ,” उनले भने, “त्यसलाई कसरी नियमन/नियन्त्रण गर्ने भनेर हामीले विभिन्न कमिटीहरू निर्माण गरेका छौँ ।”

उनले अनुसन्धानको कुरा राष्ट्र बैंक र सरोकारवाला निकायहरूको संयुक्त टिम पनि बनाएर कार्य प्रारम्भ गरिएको र त्यसमा पनि ध्यान केन्द्रित भएको बताए।

यसका साथै सरकारी काम गर्ने प्रक्रिया पुरानो परम्परागत प्रक्रिया भएको भन्दै यसलाई सुधार गर्ने कार्यको थालनी गरिएको जानकारी दिए। अर्थमन्त्रीकाअनुसार सबै कार्यलाई डिजिटलाइज गर्ने निर्णय पारित गरिएको छ।

प्रकाशित: २७ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार