
काठमाडौं ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान गर्ने गोप्य स्थलबाहेकका मतदान स्थलको भिडियो दृश्य लिने योजना बनाएको छ।
स्थानीय निर्वाचन घोषणा भएपछिको तयारीबारे गोरखापत्रसँग कुराकानी गर्दै दिएको जानकारीमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानस्थलमा मतदानको दिन र मतगणना हुँदासम्म दिनभरि के कस्ता घटना भए त्यसको दृश्याङ्कन सीसीटीभी क्यामरा, ड्रोन र अन्य प्रविधि प्रयोग गरी गर्ने व्यवस्थामा आयोग जुटेको बताए।
उनले भने, ‘अलिकति दायाँबायाँ गरेर वा धाँधली गरेर चुनावलाई प्रभावित गर्ने सोच अब त्यागे हुन्छ।’ उनले ती सबै दृश्य निर्वाचन आयोगमा ल्याउने गरी योजना बनाइएको बताए।
देशभरि करिब २३ हजार पाँच सय मतदान केन्द्र रहने छन्। सबै केन्द्रमा दृश्य लिने व्यवस्था गरिने प्रमुख आयुक्त थपलियाले प्रष्ट्याए।
आयोगले मतदानका क्रममा हुन सक्ने घटना वा मतदानपछि विश्वसनीयतालाई लिएर कुनै सवाल उठे कैद गरिएको दृश्यलाई सहयोगी सामग्रीका रूपमा लिएर आवश्यक निर्णय लिने तयारी गरेको छ।
आयोगले बुधबार मात्रै विज्ञहरुसँग विद्युतीय मतदान बारेमा छलफल र त्यसको प्रयोग गर्ने बारेको डेमो हेरेको थियो।
प्रकाशित: २७ माघ २०७८, बिहीबार