काठमाडौँ–धुलिखेलमा हाइड्रोजन बस सञ्चालनमा ल्याइने

  • Technology Khabar | २७ माघ २०७८, बिहीबार
काठमाडौँ–धुलिखेलमा हाइड्रोजन बस सञ्चालनमा ल्याइने

काठमाडौं ।

काठमाडौँदेखि धुलिखेलसम्म वैकल्पिक ऊर्जा प्रयोग गरेर हाइड्रोजन बस सञ्चालनमा ल्याइने भएको छ। धुलिखेल नगरपालिका, काठमाडौँ विश्वविद्यालय र रोटरी क्लब अफ धुलिखेलले दुई वर्षभित्रमा काठमाडौँ–धुलिखेल हाइड्रोजन बस सञ्चालानमा ल्याउने भएका हुन् ।

पेट्रोलियम पदार्थ खरिदका लागि खर्बौं रुपियाँ विदेशमा गइरहेको अवस्थामा वैकल्पिक इन्धनको स्रोतका रूपमा हाइड्रोजन ग्यास प्रयोग गर्ने गरी नगरपालिका, विश्वविद्यालय र रोटरी क्लबबीच बुधबार त्रिपक्षीय सम्झौता भएको हो।

धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्याञ्जू श्रेष्ठ, काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डिन मनीष पोखरेल र रोटरी क्लबका अध्यक्ष जयबहादुर राईले हस्ताक्षर गरेको सम्झौतापत्रमा धुलिखेल नगरपालिकालाई ग्रिन सिटी बनाउन हरित हाइड्रोजन प्रयोगमा ल्याउने उल्लेख छ।

समझदारीपत्रमा हाइड्रोजन बस सञ्चालन गर्न आवश्यक नीति, नियम र आर्थिक सहयोग धुलिखेल नगरपालिकाले गर्ने, काठमाडौँ विश्वविद्यालयले प्रविधिको क्षेत्रमा काम गर्ने र रोटरी क्लबले आर्थिक सहयोग जुटाउने उल्लेख छ।

धुलिखेल नगरपालिका र काठमाडौं विश्वविद्यालयमा हरित ऊर्जा पूर्वाधारको प्रवद्र्धन र सहयोग गर्ने उद्देश्यले उक्त सम्झौता भएको विश्वविद्यालयले जनाएको छ।

सम्झौतामा उल्लेख भए बमोजिम काठमाडौं विश्वविद्यालयले उत्पादनको प्राविधिक डिजाइन र स्पेसिफिकेशन उपलब्ध गराउनेछ भने धुलिखेल नगरपालिकाले नीतिगत निर्णय र कार्यान्वयनका लागि लजिस्टिक सहयोग गर्ने र रोटरी क्लब अफ धुलिखेलले खरिद र स्थापना प्रक्रिया कोष निर्माणमा सक्रिय नेतृत्व र सहयोग गर्ने छ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले देशको समृद्धि र वातावरण संरक्षणका लागि हाइड्रोजन बस उपयोगी हुने विश्वास व्यक्त गर्दै विश्वविद्यालयले हाइड्रोपावरबाट धेरै काम गर्न सक्ने भए पनि स्रोतको अभावमा काम हुन नसकेको जानकारी दिए।

नगरप्रमुख व्याञ्जूले धुलिखेललाई शून्य कार्बन उत्सर्जन गर्ने सहरका रूपमा विकास गरिएको भन्दै त्यसका लागि हाइड्रोजन बससमेत सञ्चालन गर्न लागिएको बताए । उनले मुलुकले अहिले वार्षिक आठ खर्ब रुपियाँभन्दा बढी पेट्रोलियम पदार्थ खरिद गर्ने गरेको बताउँदै त्यसलाई रोक्न र रोजगारीको अवसर सिर्जना गर्न सरकारले वैकल्पिक ऊर्जामा ध्यान दिनुपर्नेमा जोड दिए।

केयूका ग्रिन हाइड्रोजन ल्याबका प्रमुख विराज सिंह थापाले डेढ वर्षदेखि विश्वविद्यालयले विभिन्न देशमा हाइड्रोजनबाट सञ्चालित बसका बारेमा अध्ययन गरेर योजना अगाडि बढाएको बताए। उनका अनुसार पानीमा ८० देखि ९० प्रतिशतसम्म हाइड्रोजन हुन्छ।

विद्युत्को माध्यमबाट यसलाई छुट्याइन्छ । एक किलोग्राम हाइड्रोजनमा तीस युनिट बराबर बिजुली हुन्छ । उनले पाँच वर्षसम्म सञ्चालन हुने उक्त प्रोजेक्टले दुई वर्षभित्रमा दुईवटा हाइड्रोजन बस सञ्चालनमा ल्याउने भन्दै भान्सामा पनि इन्धनका रूपमा हाइड्रोजन ग्यास प्रयोगमा ल्याउन सकिनेबारे परीक्षण हुने बताए।

केयूको प्राज्ञिक औद्योगिक संयोजक डा. राम लामा र रोटरी क्लबका अध्यक्ष राईले सम्झौताले वातावरण संरक्षणमा सहयोग पुग्ने अपेक्षा लिएको बताए।

ग्रीन सिटी धुलिखेल कार्यक्रमको उद्देश्य र उद्देश्य पूरा गर्न ऊर्जा संक्रमणको रूपमा ग्रीन हाइड्रोजनको प्रयोगमा प्रदर्शन परियोजनाहरू कार्यान्वयन गर्न कोष खडा गर्ने उद्देश्यले सम्झौता भएको हो।

प्रकाशित: २७ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...