युक्रेनमाथिको साइबर आक्रमणमा रुसको हात, ‘हाइब्रिड युद्ध’ मा संलग्न भएको आरोप

  • Technology Khabar | २३ माघ २०७८, आईतवार
युक्रेनमाथिको साइबर आक्रमणमा रुसको हात, ‘हाइब्रिड युद्ध’ मा संलग्न भएको आरोप

काठमाडौं ।

युक्रेन र रुसबीच जारी तनाव ‘हाइब्रिड युद्ध’ मा पुगेको छ। युक्रेनले आफूमाथि भएको साइबर हमलाको पछाडि रुसको हात रहेको दाबी गरेको छ, जसले युक्रेनको सरकारी वेबसाइटहरूलाई हानी नोक्सानी गरेको छ।

युक्रेनले रुसमाथि छिमेकीविरुद्ध ‘हाइब्रिड युद्ध’ मा संलग्न भएको आरोप लगाएको छ। एक समाचार एजेन्सीकाअनुसार युक्रेनको डिजिटल डेभलपमेन्ट मन्त्रालयको यो बयान माइक्रोसफ्टको चेतावनीपछि आएको हो। यस साइबर आक्रमणको बारेमा जानकारी दिँदै माइक्रोसफ्टले युक्रेनी सरकारी एजेन्सीका दर्जनौं कम्प्युटर प्रणालीमा र्यान्समवेयरको रूपमा मालवेयरबाट संक्रमित भएको बताएको छ।

‘सबै प्रमाणहरूले साइबर आक्रमणको पछाडि रुसको हात रहेको देखाउँछ। मस्कोले हाइब्रिड युद्ध लडिरहेको छ। उसले सूचना र साइबर स्पेसमा आफ्नो सेना सक्रिय रूपमा निर्माण गरिरहेको छ,’ युक्रेनको मन्त्रालयले आफ्नो विज्ञप्तिमा भनेको छ ।

यो आक्रमण यस्तो बेलामा भएको छ, जतिबेला युक्रेनमाथि रुसी आक्रमणको खतरा रहेको र तनावपूर्ण गतिरोध समाधानका लागि कूटनीतिक वार्ता पनि ठप्प भएको अवस्था छ।

केहि दिन अगाडी एक ब्लग पोस्टमा, माइक्रोसफ्टले पहिलो पटक मालवेयर पत्ता लगाएको बताएको थियो। माइक्रोसफ्टकाअनुसार यो आक्रमण यसअघिको साइबर आक्रमणसँग मेल खान्छ जसले युक्रेनमा एकै साथ ७० सरकारी वेबसाइटहरू डाउन भएका थिए।

माइक्रोसफ्टले यसको अनुसन्धान टोलीले धेरै दर्जन प्रणालीहरूमा मालवेयर फेला पारेको बताएको छ, र त्यो संख्या बढ्न सक्छ। साइबर आक्रमणबाट प्रभावित प्रणालीहरू युक्रेनका धेरै सरकारी, गैर-लाभकारी र सूचना प्रविधि संगठनहरूमा अवस्थित छन्। माइक्रोसफ्टका अनुसार ह्याकरहरूले कुन स्तरमा आक्रमण गरिरहेका छन् भन्ने थाहा छैन र अन्य कति संस्था यसको चपेटामा परेका छन् भन्ने पनि थाहा छैन।

यसअघि २०१७ मा पनि रुसले युक्रेनमा साइबर हमला गरेको बताइएको छ। त्यसबेला युक्रेनलाई नोटपेटिया भाइरसद्वारा निशाना बनाईएको थियो।

प्रकाशित: २३ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार