
काठमाडौं ।
चोरी शिकारीका दृष्टिले संवेदनशील मानिएका चितवन राष्ट्रिय निकुञ्जका महत्वपूर्ण क्षेत्रमा नयाँ सीसी क्यामरा जडान एवं पुरानो मर्मतको कामलाई तीव्र पारिएको छ। निकुञ्जको सात स्थानमा ११ वटा नयाँ क्यामरा राख्न थालिएको छ। पुराना २० वटा क्यामेरा मर्मत गर्न लागिएको हो।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीकाअनुसार कसरादेखि सौराहासम्मका क्षेत्रमा राखिएका १० वटा क्यामरा मर्मतको काम भइरहेको छ। कसरादेखि ध्रूर्वसम्म ११ वटा क्यामेरा नयाँ जडान र तीन वटा पुराना क्यामरा मर्मतको काम भइरहेको उनले जानकारी दिए। ध्रूर्वदेखि भिम्लेसम्मका सात वटा क्यामरा मर्मतका गर्नुपर्ने उनको भनाइ छ।
तिवारीका अनुसार चोरी शिकारीका दृष्टिले संवेदनशील मानिएका क्षेत्रलाई उच्च प्राथमिकता दिँदै काम गरिएको छ। विश्व वन्यजन्तु कोषको सहयोगमा थप तथा मर्मत गर्न लागिएका ती क्यामेरा संवेदशीलताअनुसार एक स्थानमा दुई वटासम्म राखिने छ। निकुञ्जभित्र गर्ने काम भएकाले निकुञ्जले समन्वय र सहजीकरणको काम गर्ने गरेको भन्दै उनले एक साताभित्र पुराना मर्मत र नयाँ जडानको काम सकिने बताए।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागको वन्यजन्तु अपराध नियन्त्रण शाखाको समन्वयमा क्यामरा जडान तथा मर्मतको काम गरिएको हो। निकुञ्जले एक जना कर्मचारी र आवश्यक सहयोग मात्रै गरेको हो।
चालू आवमा दुईवटा गैँडा चोरी शिकारीले मारेसँगै निकुञ्ज र वन्यजन्तुको संरक्षणका लागि क्यामरा जडानको काम सुरु गरिएको हो। ती क्यामराको नियमित अनुगमन निकुञ्जले गरिरहेको छ।
प्रकाशित: १८ माघ २०७८, मंगलवार