
काठमाडौं ।
कोटेश्वरबाट पठाओ राइडर अपहरण गर्नेहरुलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। शनिबार राति ११ बजेतिर कोटेश्वरबाट चढेका एक युवाले साथीको सहयोगमा पठाओ राइडरलाई धापाखेल पुर्याई लुटपाट गरेका हुन्।
महानगरीय प्रहरी परिसर, ललितपुरकाअनुसार धापाखेलमा मुखमा टेप र हातखुट्टा डोरीले बाँधेर नगद ८ हजार र राइडरको मोटरसाइकल पनि लिएर त्यहाँबाट २ जना व्यक्ति फरार भएका थिए ।
आइतबार बिहान स्थानीयले पठाओ राइडर काठमाडौंका २५ वर्षीय प्रविन राईलाई हारगुहार गर्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै खटिएको प्रहरी टोलीले उनको उद्दार गरी उपचारका लागि पाटन अस्पताल लगेको थियो ।
कोटेश्वरबाट धापाखेल जाने भनि बर्ष २१ को सुमन तामाङले पठाओ राईडर राईलाई अनुरोध गरेका थिए । पठाओ राईडरले निजको मोटर साईकलमा राखी कोटेश्वरबाट धापाखेल स्थित आँखिदहमा पुर्याउँदा सोही स्थानमा पर्खि रहेको मिनराज राई समेत भई पठाओ राईडर राईलाई हातपात कुटपिट गरी निज पिडितको हात पछाडीबाट बाधी खुट्टा समेत बाधी मुखमा पट्टी लगाई बाटो देखि तल एकान्त झाडीमा फालेको प्रहरीले उल्लेख गरेको छ।
उनीहरुले मोटरसाईकल, सोको ब्लु बुक, सामसङ कम्पनिको मोबाईल र सोमा प्रयोग भएको नम्बरको सिम समेतका धनमाल लुटपाट गरी फरार भएका थिए।
पठाओ बुक लगेर लैजाने २१ वर्षीय सुमन तामाङ र धापाखेलमा बन्धक बनाउन सहयोग गर्ने उनका साथी मिनराज राईलाई प्रहरीले पक्राउ गरेको हो।
सो बारेमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट प्र.ना.उ. र महानगरीय प्रहरी परिसर समेतको संयुक्त प्रहरी टोलीले उनीहरुलाई बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुममा राइडरको मोटरसाइकल विक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको बताईएको छ।
प्रकाशित: ९ माघ २०७८, आईतवार