
काठमाडौं ।
ताप्लेजुङ जिल्लाको पर्यटन प्रवद्र्धन र विकासका लागि ‘स्काई वाकर’ प्रविधिको प्रयोग हुने भएको छ। स्काई वाकर प्रविधिको सदरमुकाम फुङ्लिङमा गरिएको परीक्षण सफल भएको छ।
नेपाली युवा वैज्ञानिक कपिल पौडेलले अविस्कार गरेको स्काई वाकर पहिलो पटक ताप्लेजुङमा व्यवसायिकरूपमा सञ्चालनमा ल्याउन लागिएको बताइएको छ।
पौडेलका अनुसार स्काई वाकरले एक डाँडादेखि अर्को डाँडासम्म उडान गर्ने छ । प्रत्येक दुई किलोमिटरमा एक सेन्सर राख्नुपर्ने र सेन्सरका सहायताले लामो–लामो यात्रा गर्न सकिने उनले बताए। ओझेलमा रहेको पर्यटकीय क्षेत्र तथा धार्मिक स्थलहरूमा आउजाउ गर्नका लागि स्काई वाकरको प्रयोग हुने आविस्कारक पौडेलले बताए। यो प्रविधि विकास निर्माणको क्षेत्रमासमेत उपयोग हुने उनको भनाइ छ।
ड्रोनबाट निर्माण गरिएको एउटा, विश्वमा पहिलो पटक स्काई वाकरको व्यवसायिकरूपमा परियोजना अगाडि बढाएको आविस्कार समूहले जनाएको छ। आविस्कार समूहका अनुसार यो एक प्रकारको ड्रोन हो तर विश्वमा पहिलो पटक यति ठूलो ड्रोन कुनै देशले आविस्कार नगरेको वैज्ञानिक पौडेलले दाबी गरेका छन्।
६० जनासम्म यात्रु बोक्न सक्ने क्षमता रहेको स्काई वाकरका प्राविधिकहरूले जनाएका छन्। ताप्लेजुङमा स्काई वाकरका व्यवसायिक रूपमा सञ्चालन गर्न समुदाय परिचालन तथा विकास मञ्चले समन्वय गरेको छ।
जिल्लाको प्रसिद्ध धार्मिक स्थल पाथीभरा, पर्यटकीय स्थल तिम्बुङ पोखरी र फुङ्फुङ्गे झरनालगायतका स्थानमा व्यवसायिक रूपमा सञ्चालन गर्ने योजना रहेको समुदाय परिचालन तथा विकास मञ्चका अध्यक्ष खड्ग गुरुङले बताए। त्यसका लागि पहिलो सर्भे गर्ने काम सुरु भएको गुरुङले बताए। गोरखापत्र
प्रकाशित: ७ माघ २०७८, शुक्रबार