विद्युत नहुँदा नेपाल टेलिकमको टावर सञ्चालनमा समस्या

  • Technology Khabar | ७ माघ २०७८, शुक्रबार
विद्युत नहुँदा नेपाल टेलिकमको टावर सञ्चालनमा समस्या
सांकेतिक तस्बिर

काठमाडौं ।

दाङ जिल्लामा रहेको तुलसीपुर उपमहानगरपालिका–१९, छिल्लीकोटमा नेपाल टेलिकमको टावर निर्माण गरिएको छ। टावर ठडिए पनि सेवा भने सुरु भएको छैन।

टावरबाट सेवा सञ्चालनका लागि विद्युत् नपुग्दा सेवा सञ्चालन हुन नसकेको हो। नेपाल टेलिकम तुलसीपुर कार्यालयले दिएको जानकारीअनुसार विद्युत जडानका लागि आवश्यक पर्ने रकम नेपाल विद्युत प्राधिकरण कार्यालय घोराहीमा जम्मा भइसकेको छ।

लुम्बिनी प्रदेश सरकारको बजेटबाट गत वर्ष नै तुलसीपुर–१९, सक्रामदेखि छिल्लीकोटसम्म विद्युत सेवा सञ्चालनमा ल्याइसकेको छ। छिल्लीकोटको खानीगाउँदेखि राजदरबार क्षेत्रसम्मको करिब दुई सय मिटर दूरीसम्ममा मात्रै विद्युत पुगेको छैन।

टेलिकम कार्यालय तुलसीपुरका प्रमुख जितेन्द्रनाथ शुक्लाले दिएको जानकारीअनुसार त्यहाँ रहेको टावर सञ्चालनका लागि विद्युत् भोल्टेज नपुग्ने भएकाले ट्रान्समिटर जडानका लागि विद्युत कार्यालयले थप रकम माग गरेको छ। उनकाअनुसार टेलिकम कार्यालयसँग ट्रान्समिटर जडानका लागि आवश्यक पर्ने २५ लाख रुपियाँ बजेट नभएको र थप रकम केन्द्रसँग माग गर्नुपर्ने बताइएको छ।

टेलिकम कार्यालयले तत्कालका लागि विद्युत सेवा प्रवाह गरेर परीक्षण गर्ने र विद्युत भोल्टेज अपुग भएको अवस्थामा केन्द्रसँग बजेट माग गर्न सकिने कार्यालय प्रमुख शुक्लाले जानकारी दिए। गोरखापत्र

प्रकाशित: ७ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार