
काठमाडौं ।
मोबाइल एपमार्फत नेपालमा बसेर अमेरिकामा अनलाइन जुवा खेलाउने गिरोहलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ।
नेपालबाट मोबाइल एप्लिकेशन चलाएर अमेरिकामा जुवा खेलाएको अभियोगमा १२ जनालाई पक्राउ गरिएको महाशाखाका प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिएका छन्।
पक्राउ पर्नेमा नेपालका मुख्य नाइके सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत, बुद्ध महर्जनसहित मनिष थापा, समिर थापा, कविता थापा, रविन खड्का, रोजा महर्जन, शाहिल महर्जन, हनिशा महर्जन, विनोद ठगुन्ना र रमादेवी श्रेष्ठ छन् ।
पक्राउ ब्यक्ति मध्येका सुजेन्द्र थापा, प्रदिपमान सिंह बस्नेत र बुद्द महर्जनले अनलाईन जुवा खेलाउन सम्पुर्ण परिपञ्च मिलाई किर्तिपुरको चोभार, नगाउँ र बागभैरवमा ३ ओटा घरमा २४ सै घण्टा सिफ्टवाईज रुपमा अनलाईन मार्फत जुवा खेलाउनका लागी कर्मचारीहरु समेत राखेको देखिएको प्रहरीले उल्लेख गरेको छ।
महाशाखाका प्रमुख कुँवरकाअनुसार उनीहरुले कम्तिमा १० डलर वा त्योभन्दा बढी राखेर खेल्नुपर्ने गरी मोबाइल एप्लिकेशन चलाउने गरेका थिए ।
तीन मुख्य व्यक्तिबाहेक अन्य कामदारका रुपमा प्रयोग भएका थिए भने अन्यले कामदारका रुपमा जुवा खेल्न लिंक शेयर गर्ने गरेको पाइएको कुँवर बताउँछन्।
महाशाखाकाअनुसार त्यसरी खटिएका कर्मचारीहरुले फेसबुक आइडीमार्फत अमेरिकन तथा युरोपियन नागरिकहरुलाई साथी बनाई जुवा, फायर क्रिरिङ्ग, रिभर स्वीप, रिभर मन्स्टरभेगास एक्स लगायतका अनलाईन जुवा खेल्न लिंक शेयर गरि उक्त गेममा अमेरिकन डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्ने पक्षलाई तोकिएको धनराशि समेत पुरस्कारको रुपमा दिने गरेका थिए।
जुवा खेलाउने ब्यक्तिहरुलाई सोधपुछ गर्दा निजहरुले करिब १० महिना अगाडी देखी महिनाको करिब १ लाख अमेरिकी डलर भन्दा बढी रकम हारजित हुने गरी अनलाईन जुवा खेलाउने गरेको बुझिएको छ।
पक्राउ परेकाको साथबाट प्रहरीले विभिन्न कम्पनीका मोबाईल १७ थान, ल्यापटप १४ थान, कम्प्युटरको सीपीयू २ थान, कम्प्युटर मनिटर २ थान, गेमिङ्ग बिवरण लेखिएका रजिस्टरहरु र ह्वाइट बोर्ड २ थान बरामद गरेको जनाएको छ।
प्रकाशित: ६ माघ २०७८, बिहीबार