टीएसएमसीले २०२२ मा चिप निर्माणका लागि अझ लगानी बढाउने

  • Technology Khabar | २९ पुष २०७८, बिहीबार
टीएसएमसीले २०२२ मा चिप निर्माणका लागि अझ लगानी बढाउने

काठमाडौं ।

ताइवानको चिप निर्माता कम्पनी टीएसएमसीले २०२२ मा चिप बिक्रीको मात्रा अझै बढाउने र यसका लागि लगानीमा पनि बढोत्तरी गर्ने भएको छ।

कम्पनीले हालै चाैथो त्रैमासमा १६.४ प्रतिशत नाफा बढेको प्रगति विवरण जारी गरेको छ। यो नाफा हालसम्मकै कीर्तिमानी रहेको र यसको मुख्य श्रेय विश्वमा बढेको सेमिकन्डक्टर चिपको अथाह मागलाई जाने बुझिएको छ।

यसैक्रममा कम्पनीले यो वर्ष अर्थात् सन् २०२२ मा अत्याधुनिक चिप निर्माणका लागि गत वर्षको तुलनामा एक तिहाइ बढी रकम खर्च गर्ने योजना बनाएको छ।

स्मार्टफोन, ल्यापटप तथा अन्य ग्याजेटहरुमा प्रयोग हुने सेमिकन्डक्टर चिपको माग कोरोना महामारीका बीच विश्वभरी नै बढेकाले विश्वभर नै चिपको अभाव चुलिँदै गएको छ।

यसबाट विश्वका थुप्रै अटो तथा इलेक्ट्रोनिक्स सामग्री निर्माताहरुले आफ्नो उत्पादनमा व्यापक कटोती गर्नुपरेको थियो। सबैको माग पूरा गर्ने प्रयासमा टीएसएमसी तथा अन्य चिप निर्माताहरुको चिप निर्माणको अर्डर भने पूरा भएको छ।

एप्पलको मुख्य आपूर्तिकर्ताका रुपमा रहेको टीएसएमसीले यो वर्ष चिप निर्माणका लागि ४० देखि ४४ अर्ब डलरसम्म खर्च गर्ने जनाएको छ।

यो आँकडा गत वर्ष ३० अर्ब डलर रहेको थियो।

प्रकाशित: २९ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...