सरकारी कामकारबाही डिजिटल माध्यममा लैजान अर्थमन्त्री शर्माको आग्रह

  • Technology Khabar | २७ पुष २०७८, मंगलवार
सरकारी कामकारबाही डिजिटल माध्यममा लैजान अर्थमन्त्री शर्माको आग्रह

काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले अर्थ मन्त्रालय लगायतका सरकारी कामकारबाही डिजिटल प्रणालीमा लानुपर्ने बताएका छन्। उनले मंगलबार मन्त्रालयमा आर्थिक वर्ष २०७८/०७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा सो आग्रह गरेका हुन्।

त्यस्तै उनले विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता पनि औँल्याए। मन्त्री शर्माले फाइल हरेक मन्त्रालयमा बोकेर हिँड्दा ढिला हुने भन्दै अब डिजिटल माध्यममा लैजानुपर्ने बताएका हुन्।

‘फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुई/चार दिन जान्छ। यहाँ पनि समय गइरहेको छ’, उनले भने, ‘यसलाई डिजिटल माध्यममा लैजानुपर्यो। डिजिटलमै अनुरोध गर्ने र स्वीकृति गर्ने हुनुपर्यो। टिप्पणी उठाएर राख्ने काम आफ्नो ठाउँमा गर्नुपर्छ।’

मन्त्री शर्माले आर्थिक वर्ष २०७८/०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गरे। उनले आवश्यक परे मध्यरातमा पनि आफू सहयोग गर्न तयार रहेको बताउँदै जसरी पनि खर्च गर्न आग्रह गरे।

पछिल्लो समय पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ताकेता गर्दै आएको छ। यसैबीच सोमबारसम्मको तथ्याङ्कअनुसार पुँजीगत खर्च ९.३९, चालु खर्च ३८.९ र वित्तीय खर्च २५.४१ प्रतिशत खर्च भइसकेको छ। समग्रमा हालसम्म २९.११ प्रतिशत बजेट खर्च भइसकेको छ।

प्रकाशित: २७ पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार