
काठमाडौं ।
चर्चित सांगीतिक कलाकार एमिनेम पहिलो एप खरिदमार्फत् बोर्ड एप योट क्लब बीएवाईसीसँग आवद्ध भएका छन्।
एकाडेमी अवार्ड र गोल्डेन ग्लोब अवार्ड जित्ने एकमात्र र्यापर एमिनेमले हालै १२३.४५ इथर अर्थात् लगभग ४ लाख ५२ हजार डलर बराबरको एनएफटी खरिद गरेका हुन्।
उनले ट्विटरमा इथेरियममा आधारित एपलाई आफ्नो प्रोफाइल पिक्चर बनाएर राखेका छन् भने चर्चित एनएफटी बजार ओपनसीबाट हालसम्म १५ ओटा नन फंगिबल टोकन अर्थात् एनएफटी किनिसेकेको बताइएको छ जसमध्ये बोर्ड एप एनएफटी भने पहिलो हो।
एमिनेप नाम दिइएको उक्त ग्राफिकमा एमिनेमले वास्तविक जीवनमा लगाउनेजस्तै एउटा बोर्ड एपलाई खाकी सैन्य टोपी तथा घाँटीमा सुनको नेकलेस लगाएको देख्न सकिन्छ।
उक्त डिजिटल कला बीएवाईसीका सदस्य गीगाजाले बिक्री गरेका हुन्। बिक्रीपछि गीगाजाले ट्विटरमा उक्त कारोबार पागलपनको यथार्थ भएको उल्लेख गरेका थिए। उनले आफू सिमुलेशनमा बाँचिरहेको पनि थपेका थिए।
बीएवाईसीका सदस्यले महिनोदेखि एमिनएप बेच्नका लागि एमिनेमसँग सम्पर्क गर्ने प्रयास गरेका थिए।
गत नोभेम्बरमा गीगाजाले यस्तो व्यहोराको ट्वीट गरेका थिए, ‘एमिनेमले कुनै दिन मेरो बोर्ड एप एनएफटी किन्नेछन् भन्ने कुरामा मलाई अझै विश्वास छ।’
प्रकाशित: २० पुष २०७८, मंगलवार