विद्युतीय भोटिङः कांग्रेसले पत्याएन, अन्यत्र बढ्दैछ माग

  • Technology Khabar | ९ पुष २०७८, शुक्रबार
विद्युतीय भोटिङः कांग्रेसले पत्याएन, अन्यत्र बढ्दैछ माग
भोटिङ्ग मेशिन।

काठमाडौं ।

सत्तारुढ दल नेपाली कांग्रेसले मंसिर अन्तिम साता काठमाडौंमा १४औं महाधिवेशन सम्पन्न गर्यो। महाधिवेशनमार्फत चयन हुने पदाधिकारीको अन्तिम नतिजा थाहा पाउन भने पुरै दुई साता लाग्यो।

पार्टी नेतृत्वले विद्युतीय भोटिङ मेसिनलाई विश्वास नगरी परम्परागत विधिमार्फत पदाधिकारी चयन गर्ने टुंगो लगाएपछि ‘हाइटेक’ हुनुपर्ने कांग्रेस ‘हिलटेक’ भयो भन्दै स्वयं कांग्रेसकै नेता कार्यकर्ताले नेतृत्वको आलोचना गरे।

आलोचना नहोस पनि कसरी, परम्परागत शैलीको मतपत्र अनि पानी ट्यांकीलाई मतपत्र हाल्ने ढ्वाङ बनाएपछि?

कांग्रेसले पदाधिकारी चयन गर्न विद्युतीय मेसिन प्रयोग गर्ने राम–लक्ष्मण इनोभेसन्सको विश्वास थियो। तर, ‘हाम्रा प्रतिनिधि र कार्यकर्ता प्रविधिमैत्री छैनन्, विद्युतीय मेसिनमार्फत भोट हाल्न जान्दैनन्’ भन्ने व्यहोराको जवाफ कांग्रेस नेतृत्वबाट पाएपछि इनोभेसन्स्का प्राविधिकले भोटिङ मेसिन प्रयोगका लागि पुनः आग्रह गरेनन्।

इनोभेसन्सले एक दशकयता यस्तो मेसिन प्रयोगमा ल्याएको छ। राष्ट्रिय अपाङ्ग महासंघ नेपालले बागमती प्रदेशस्तरीय पदाधिकारी चयनमा भोटिङ मेसिनको प्रयोग गर्दैछ।

बागमतीको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन शुक्रबार शुरु भएको छ। भोलि अर्थात् १० पुसमा  एक सय ६० भन्दा बढी मतदाताले आगामी तीन वर्षका लागि १९ जना पदाधिकारी चयन गर्दैछन्।

बागमती प्रदेशका वर्तमान अध्यक्ष एवं दोस्रो कार्यकालको नेतृत्वका दावेदार अस्विन लम्सालले भने, ‘निर्वाचन प्रक्रिया झन्झटिलो नहोस र प्रक्रिया पनि छिट्टै सकियोस भनेर सबै मतदातालाई सहज हुनेगरी विद्युतीय भोटिङ मेसिन प्रयोग गर्दैछौं।’

मतदाता मध्ये करिब ४० जना दृष्टिविहीन छन्। राम–लक्ष्मण इनोभेसन्सका प्राविधिक अनुसन्धानकर्ता लक्ष्मण रिमालकाअनुसार विभिन्न १२ प्रकृतिका अपाङ्गता भएका मतदातालाई लक्षित गरी विद्युतीय मेसिन तयार गरिएको छ।

‘दृष्टिविहीनसहित हरेक प्रकारका अपाङ्गता भएका मतदातालाई सहज हुने गरी भोटिङ मेसिन प्रयोग हुनेछ, उनले टेक्नोलोजीखबरसँग भने, ‘अपाङ्गता भएका व्यक्तिहरुले अन्य व्यक्तिको सहयोग विना पनि भोट हाल्न सक्नेगरी सफ्टवेयर मिलाएका छौं।’

महासंघले २०७५ चैतमा विराटनगरमा भएको अधिवेशनमा पनि विद्युतीय भोेटिङमार्फत पदाधिकारी चयन गरेको थियो।

रिमालले दावी गर्दै दोहोर्याए, ‘मतदाता असन्तुष्ट भएको गुनासो अहिलेसम्म आएको छैन।’

इनोभेसन्सले विद्युतीय भोटिङ मेसिन बनाएको एक दशक अवधिमा नेपालका विभिन्न भेगमा ९५ वटा निर्वाचन सम्पन्न भएका उनले जानकारी दिए।

विद्युतीय भोटिङ मेशिन प्रयोग भएको ९६ औं निर्वाचन

यसअघि गत महिना चितवनमा सम्पन्न नेकपा एमालेको १० औं महाधिवेशन, गत महिना नै काठमाडौंमा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन तथा  हालै सम्पन्न नेपाल जेसिसको अधिवेशनमा पनि इनोभेसन्सकै मतदान उपकरण भएको थियो।

इनोभेसन्सका अनुसार यी मतदान उक्त प्रविधि प्रयोग गरेर भएको क्रमश: ९३औं, ९४औं र ९५औं मतदान थिए।

शनिबार १० पुषमा हुने मतदान उक्त प्रविधि प्रयोग भएको ९६औं हुने रिमालले जानकारी दिए।

जेसिसले यो वर्षसहित छैठौं पटक यस्तो विधि अपनाइसकेको छ।

एमालेले पहिलोे पटक सात वर्षअघि संसदीय दलको कार्यालयमा विद्युतीय मतदानमार्फत संसदीय दलको नेताको चयन गरेको थियो। त्यसपछि राम–लक्ष्मण इनोभेसन्सको यस्तो मेसिन चर्चामा आएको हो।

माग भएअनुसार नेपालका जुनसुकै भेगमा विद्युतीय मतदानको सुविधा उपलब्ध गराउन सकिने इनोभेसन्स्का अर्का अनुसन्धाता राम रिमालले बताए।

‘निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको तयारी गरिरहँदा आयोगले चाहने हो भने त्यसका लागि समेत हामी तयार छौं’, उनले भने। सरकारले आगामी माघ १२ गते राष्ट्रियसभामा रिक्त १९ सदस्यहरुको निर्वाचन गर्ने निर्णय गरेसँगै आयोग निर्वाचनको तयारीमा जुटेको छ।

प्रकाशित: ९ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार