एपेक्स कलेजमा केएमजीको लगानी, स्टार्टअप सेन्टर बनाउन १ करोड रुपैयाँको कोष

  • Technology Khabar | ७ पुष २०७८, बुधबार

काठमाडौं ।

कान्तिपुर मिडिया ग्रुप (केएमजी) अन्तरगतको भगिनी कम्पनी एमएनएस नेक्स्ट भेञ्चर कोर्पले एपेक्स कलेज स्टार्टअप सेन्टर बनाउन १ करोड रुपैयाँको कोष खडा गर्ने निर्णय गरेको छ।

केएमजीले यो धनराशी यस कलेजका विद्यार्थी एवम् पूर्वविद्यार्थीहरुको नवीन सोचमा आधारित परियोजनालाई सघाउन उपयोग गरिने जनाएको छ ।

केएमजीले एपेक्स कलेजमा लगानी गर्दै स्टार्टअपका लागि १ करोड रुपैयाँको कोष खडा गर्ने बताएको हो ।

सन् २००० देखि सञ्चालित एपेक्स कलेजमा ३२ जना पूर्णकालिन प्राध्यापक एवम् ३८ जना व्यवस्थापकीय कर्मचारीसहितको सशक्त टिम रहेको बताईएको छ । केएमजीले यसलाई थप समुन्नत बनाउँदै यहाँ अध्ययनरत् विद्यार्थीहरुलाई अतिरिक्त अवसरहरु उपलव्ध गराउने उद्देश्यसहित यसमा लगानी गर्ने निर्णय लिएको हो ।

एपेक्सबाट दीक्षित विद्यार्थीलाई प्रतिष्ठित उद्योग–प्रतिष्ठानहरुले प्राथमिकताका साथ रोजगारीमा लिने प्रबन्ध मिलाउन यसबीचमा छुट्टै समझदारी–पत्रहरुमा पनि हस्ताक्षर गरिने कम्पनीले उल्लेख गरेको छ ।

एपेक्सका उत्कृष्ट विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानआर्जनका निम्ति पेड इन्टर्नसीपमा पठाउने तथा त्यहींबाट नियमित काममा राख्न सकिने व्यवस्थासमेत मिलाइने जनाएको छ।

यसका साथै विद्यार्थीहरुको क्षमता अभिवृद्धिको वातावरण बनाउन एपेक्सभित्र चाँडै नै बिजिनेश इन्टेलिजेन्स सेन्टरको स्थापनाका साथै मार्केट–रिसर्च र प्रकाशनको काम पनि थालिने उल्लेख गरेको छ । यो सेन्टरले नियमित रुपमा विभिन्न उद्योग–प्रतिष्ठानहरुमा आधारित केस स्टडीहरु पनि गर्नेछ, जो उद्यमी, व्यवसायी, बजार अध्येतादेखि परिवर्तनका बाहकसम्म सबैलाई निकै उपयोगी हुने बताएको छ।

एपेक्सले हालैको कोभिड–१९ का कारण लकडाउन हुँदा जस्तो प्रतिकूल परिस्थिती आउँदा समेत सहज ढंगले कक्षा सञ्चालन गर्न र विद्यार्थीले चाहेको बेलामा पुनः कक्षा लिन मिल्ने सिस्टम बनाउन चाँडै नै डिजिटल एपेक्स विङ पनि स्थापना गर्दैछ । विद्यार्थीको सिकाई क्षमता बढाउन, परीक्षाको प्रभावकारी तयारी गर्न र विभिन्न बिषयमा विस्तारित अध्ययन गर्न चाहने विद्यार्थीलाई तद्नुरुप सुविधा उपलव्ध गराउन पनि यो डिजिटल विङले काम गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित: ७ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया