
काठमाडौं ।
-साजन सुबेदी
नेपालमा आर्थिक वर्ष २०७८/७९ को पहिलो ४ महिनामा जम्मा १ अर्ब ५५ करोड ७३ लाख ५ हजार रुपैयाँको राउटर आयात भएको छ। देशभित्र इन्टरनेट सेवाको बिस्तार र पहुँच बढेसँगै राउटरको आयातमा समेत वृद्धि भएको देखिएको छ।
भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को शुरुवाती चार महिनाको प्रतिवेदन अनुसार २०७८ श्रावणदेखि कार्तिक मसान्तसम्ममा नेपालमा ४ लाख ७५ हजार ५९९ ओटा राउटर भित्रिएका छन्।
यीमध्ये सबैभन्दा बढी चीनबाट १ अर्ब ५२ करोड २७ लाख ९८ हजार रुपैयाँ बराबरको ४ लाख ६८ हजार ५४४ ओटा राउटर आयात भएका छन्।
यसपछि अस्ट्रेलियाबाट १ करोड २१ लाख ६१ हजार रुपैयाँ बराबरको ३ हजार ३०१, बेल्जियमबाट ६२ लाख ६५ हजार बराबरको १ हजार ७०० ओटा, ताइवानबाट ४९ लाख २ हजार बराबरको १ हजार ७२ ओटा राउटर आयात भएको तथ्याङ्क छ।
यसैगरी भारतबाट १३ लाख १० हजार बराबरको ३९९ थान, भियतनामबाट २१ लाख २७ हजार बराबरको ३९० थान, लात्भिया बाट ७१ लाख ६६ हजार बराबरको १७७ थान राउटर भित्रिएको देखिन्छ।
यसबाहेक मलेसियाबाट ५ लाख ३७ हजार बरबारको ६ थान, अमेरिकाबाट ७ हजार रुपैयाँ बराबरको ३ थान, हङकङ र कोरियाबाट क्रमश ७ र ४ हजार रुपैयाँ बराबरको २-२ थान तथा जर्मनी, जापान र यूएईबाट क्रमश: ११, ८ र ३ हजार रुपैयाँ बराबरको १-१ थान राउटर आयात भएको तथ्याङ्क छ।
गत वर्ष कोरोना भाइरस महामारीको संक्रमणको डरले भएको लकडाउनपछि मानिसहरुले यी सेवाको उपयोग अधिकतम गरिरहेका छन् भने अहिले पनि कोरोनाको दोेस्रो लहरका कारण इन्टरनेट सेवा प्रयोग गर्नेको संख्या पनि दिन प्रतिदिन बढ्दै गइरहेको पाइएको छ।
प्रकाशित: २ पुष २०७८, शुक्रबार