
काठमाडौं ।
सामसङले आउँदो वर्ष पानी नछिर्ने ग्यालेक्सी ए सिरिजका स्मार्टफोनहरु धेरै मात्रामा उत्पादन गर्ने बताएको छ।
कम्पानीले यसअघि नै आधा दर्जनभन्दा बढी ए सिरिजका वाटर रेजिस्टेन्ट स्मार्टफोनहरु सार्वजनिक गरिसकेको छ जसमा ग्यालेक्सी ए५२, ए५२ फाइभजी, ए५२एस फाइभजी तथा ए७२ लगायतका छन्।
हालै दक्षिण कोरियाको द इलेक नामक सञ्चारमाध्यममा आएको रिपोर्टलाई मान्ने हो भने सामसङले सन् २०२२ मा चिनियाँ कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नका लागि धेरैभन्दा धेरै ए सिरिजका वाटर रेजिस्टेन्ट मिड रेन्ज फोनहरु बजारमा उपलब्ध गराउनेछ।
आईपी रेटिङसहित आउने ग्यालेक्सी ए सिरिजका लाइनअपमा ए३३ र त्यसमाथिका सेटहरु पर्ने बताए पनि कम्पनीले आईपी रेटिङ कति हुने भन्ने खुलाएको छैन।
हालसम्म कम्पनीले ग्यालेक्सी ए सिरिजका आईपी६८ रेटिङ भएका ५ ओटा तथा आईपी ६७ रेटिङका ४ ओटा सेटहरु सार्वजनिक गरेको छ।
स्रोतका अनुसार सामसङले यी स्मार्टफोनमा धुलो र पानी छेक्ने आईपी रेटिङका लागि मेम्ब्रेन मेटेरियल अर्थात् झिल्ली पदार्थ तथा वाटरप्रूफ सिलिकोन प्रयोग गर्ने भएको छ। मेम्ब्रेन मेटेरियल स्पीकरलाई जोगाउन तथा वाटरप्रूफ सिलिकोन चार्जिङ पोर्टको सुरक्षाका लागि प्रयोग गरिने बताइएको छ।
प्रकाशित: १६ मंसिर २०७८, बिहीबार