
काठमाडौं ।
फेसबुकले अमेरिकाको लस एन्जल्स प्रहरी विभागलाई फेक प्रोफाइल बनाएर प्रयोगकर्तामाथि निगरानी गर्न बन्द गर्न पत्र लेखेको छ।
फेसबुकको यो कदम द गार्जियनले अमेरिकी प्रहरी विभागले आपराधिक क्रियाकलाप समाधान गर्ने उद्देश्यले प्रयोगकर्ताको डाटा केलाउन एउटा प्रविधि कम्पनीसँग काम गरिरहेको खबर छापेलगत्तै आएको हो।
फेसबुकले फेक एकाउन्टलाई पूर्णरुपमा निषेध गर्दै आएको छ। कम्पनीले यसको उद्देश्य प्रयोगकर्ताले एक अर्काप्रति उत्तरदायी हुने तथा विश्वास गर्न सक्ने खालको सुरक्षित वातावरण बनाउन चाहेको बताएको छ।
‘लस एञ्जल्स प्रहरी विभागको दस्तावेजले विभागले फेक सामाजिक सञ्जाल एकाउन्ट बनाउन मात्र नभइ आफ्ना अधिकृतहरुलाई अनलाइन अनुसन्धान गतिविधिका लागि फेक एकाउन्ट बनाउनुसमेत दिने गरेको पाइएको छ’, फेसबुकका उपाध्यक्ष तथा नागरिक अधिकारका लागि सहायक जनरल काउन्सेल रोय अस्टिनले कम्पनीका नीतिबारे बुझाउँदै पत्रमा उल्लेख गरेका छन्।
यो कुराको प्रामाणिकता प्रहरी विभागसँग हुने भए पनि अधिकारीहरुले एकाउन्ट बनाउँदा फेसबुकको नीति मान्नुपर्ने उक्त पत्रमा उल्लेख छ।
विभागले फेक एकाउन्ट, अन्य व्यक्तिको छद्म नाममा खोलिएको एकाउन्ट तथा निगरानीका उद्देश्यले गरिने तथ्याङ्क संकलन बन्द गर्नुपर्ने पनि पत्रमा लेखिएको छ।
प्रकाशित: ३ मंसिर २०७८, शुक्रबार