
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक जि.एम.ई.पे प्रालिको अनुमति पत्र (लाइसेन्स) मंगलबार खारेज गर्ने निर्णय गरेको हो।
केन्द्रिय बैंकले भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७७ को विनियम ३५ को उपविनियम १ को (क) अनुसार भुक्तानी सेवा प्रदायक जीएमई पेको अनुमतिपत्र खारेज गरेको हो।
राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले कम्पनीले समयावधि भित्र सेवा संचालन गर्न नसक्दा अनुमतिपत्र खारेज गरेको बताए ।
“हामीले लाइसेन्स दिँदा त्यसमा शर्तहरु तोकेका हुन्छौं र कम्पनीले तोकिएको समयभित्र सेवा शुरु गर्नुपर्ने हुन्छ तर समयभित्र सेवा शुरु गर्न नसक्दा कम्पनीको लाइसेन्स खारेज गरिएको हो,” प्रवक्ता ढकालले टेक्नोलोजीखबरसँग भने।
विनियमावलीअनुसार भुक्तानी सेवा प्रदायकले अनुमति पाएको ६ महिना भित्र सेवा शुरु गरेर जानकारी गराउनुपर्ने हुन्छ। नत्र भने अनुमति पत्र स्वतः खारेज हुन्छ।
जिएमई पेले २०७७ असोज २२ गते राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमति पत्र पाएको थियो।
भुक्तानी सेवा प्रदायकको अनुमति पत्र पाएर पनि सेवा नै शुरु गर्न नसकेर लाइसेन्स खारेजी भएको संभवत पहिलो पटक हो।
जिएमई पे नेपालमा रेमिट्यान्स कारोबार गर्दै आएको ग्लोबल मनि एक्सप्रेस (जिएमई) रेमिट्यान्स नेपाल अन्तरगतको कम्पनी हो ।जिएमई रेमिट्यान्सले सन् २०१२ देखि कारोबार गर्दै आएको छ।
प्रकाशित: १६ कार्तिक २०७८, मंगलवार