
काठमाडौं ।
उदयपुरको कटारी नगरपालिकास्थित मालपोत कार्यालय कटारीले भू–सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। बिहीबारबाट कार्यालयले भू–सेवा केन्द्र सञ्चालनमा ल्याएको हो।
भू–सेवा केन्द्र सञ्चालनको घोषणा गर्दै इलाका प्रशासन कार्यालय कटारीका प्रमुख तुलराज सुनुवारले सेवाग्राहीलाई अब धेरै सहज हुने बताए।
उनले अब मालपोल कार्यालय कटारीमा सेवा लिन आउने सेवाग्राहीलाई सहज रूपमा र निश्चित सेवा शुल्कमा सेवा दिन सकिने, लेखनदासको मनपरी नियन्त्रण हुने, जग्गाको काम लिएर मालपोत कार्यालयमा आउनेबाट हुने भिडभाड तथा दलाली नियन्त्रण हुने विश्वास लिएको बताए।
सरकारले जग्गा प्रशासन सम्बन्धी सेवालाई समय सापेक्ष परिवर्तन गरी सूचना प्रविधिमा आधारित बनाउने उद्देश्यले भूमि सुधार र मालपोत कार्यालयमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (एआरआईएमएस),अभिलेख व्यवस्थापन प्रणाली (डीएमएस) तथा पब्लिक एक्सेस मोडल (पाम) प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याएको मालपोत कार्यालय कटारीका प्रमुख नेत्रराज भण्डारीले बताए।
उनका अनुसार मालपोत नियमावली, २०३६ (छैठौं संशोधन) को नियम २३ क (२) को व्यवस्था अनुसार पाम प्रणाली सेवाग्राहीले इन्टरनेटको माध्यमबाट जग्गा प्रशासन सम्बन्धी काम गर्न सकिने गरी प्रणालीको विकास गरिएको र यसमा भू–सेवा केन्द्रको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी काम गरिएको छ । जसमा जग्गा धनी आफैँले वान टाइम पासवर्ड (ओटीपी) को प्रयोग गरी अनलाइन प्रणालीमा पहुँच प्राप्त गरी निवेदन भर्न सक्ने भएकोले लेखापढी व्यवसायमार्फत कारोबार गर्दा झन्झट महसुस गरिरहेका धेरैजसो सेवाग्राहीले अब आफैँ फारम भर्न सक्ने कार्यालय प्रमुख भण्डारीले बताए ।
मालपोत कार्यालय कटारीका कम्युटर अपरेटर सुमन कटुवालले बैङ्कले भू–सेवा केन्द्रको अनुमति लिने बित्तिकै ऋणीको जग्गा रोक्का तथा फुकुवा गर्दा बैङ्कले आफ्नै कार्यालयबाट व्यवस्था गर्नसक्ने प्रविधिको विकास गरिएको रहेको जानकारी दिए। गोरखापत्र
प्रकाशित: १२ कार्तिक २०७८, शुक्रबार