नेपालमा एक महिनामै भित्रिए ३ अर्ब रुपैयाँभन्दा बढीका ल्यापटप र नोटबुक

  • Technology Khabar | ११ आश्विन २०७८, सोमबार
नेपालमा एक महिनामै भित्रिए ३ अर्ब रुपैयाँभन्दा बढीका ल्यापटप र नोटबुक

काठमाडौं ।

 

-साजन सुवेदी

हालै भन्सार विभागले अद्यावधिक गरेको वैदेशिक व्यापारको भाद्र महिनासम्मको तथ्याङ्क हेर्दा नेपालमा भाद्र महिनासम्ममा विभिन्न देशबाट जम्मा ५८ हजार ७३८ ओटा ल्यापटप तथा नोटबुकहरु आयात भएको देखिन्छ।

समग्र ल्यापटप तथा नोटबुकहरु विश्वका विभिन्न २७ देशबाट आयात भएका तथ्यांकले बताउँछ।

चालु आर्थिक वर्ष २०७८/७९ को भाद्रमहिनासम्ममा आयात भएका उक्त परिमाणका ल्यापटप तथा नोटबुकहरुको समग्र मूल्य करिब ३ अर्ब २२ करोड ८२ लाख रुपैयाँ हाराहारी पर्ने तथ्याङ्कमा उल्लेख छ।

पछिल्लो एक महिनामा ३० हजार भन्दा बढी भित्रिए

भन्सार विभागको तथ्याङ्कलाई विश्लेषण गर्दा एक महिना अर्थात् २०७८ श्रावण मसान्तदेखि भाद्र मसान्तको एक महिनाको अवधिमा जम्मा ३० हजार ४३७ थान ल्यापटप आयात भएको देखिन्छ।

२०७८ श्रावण मसान्तसम्ममा कुल २८,३०१ थान ल्यापटप तथा नोटबुक नेपाल भित्रिएकामा १ महिनाको अवधिमा ३०,४३७ थान थपिएर भाद्र मसान्तसम्ममा ५८, ७३८ थान पुगेको छ।

सबैभन्दा धेरै चीनबाट आयात

पछिल्लो एक महिनाको तथ्यांक हेर्दा चीनबाट सबैभन्दा धेरै अर्थात् ३ अर्ब ८ करोड २९ लाख ३ हजार रुपैयाँ बराबरको ५६, ३८९ थान ल्यापटप/नोटबुक आयात भएको छ।

यसपछि ६ करोड २४ लाख ६२ हजार रुपैयाँ बराबरको १, ०१२ थान ल्यापटप मलेसियाबाट भित्रिएको देखिन्छ।

यसबाहेक सिंगापुरबाट २ कर‍ोड ८५ लाख ८६ हजार बराबरको ४६९ थान, अमेरिकाबाट २ करोड २८ लाख २९ हजार बराबरको ३४९ थान, यूएईबाट ६१ लाख ७७ हजार बराबरको ७८ थान आयात भएको छ।

यसैगरी क्यानडाबाट ६६ लाख ४६ हजार बराबरको १०२ थान, भारतबाट ३१ लाख ३८ हजार बराबरको ३९ थान, जापानबाट ३० लाख ५२ हजार बराबरको ५७ थान, कोरियाबाट २१ लाख ७८ हजार बराबरको ४१ थान, ताइवानबा‍ट २५ लाख ६ हजार बराबरको ३८ थान तथा थाइल्यान्डबाट ३१ लाख २७ हजार बराबरको ६४ थान ल्यापटप तथा नोटबुक आयात भएको देखिन्छ।

यी बाहेक फिलिपिन्सबाट २३, मेक्सिको र अस्ट्रेलियाबाट १५-१५ थान, डेनमार्क र कतारबाट ९-९, बेलायतबाट ८, भियतनामबाट ७, हङकङबाट ३, जर्मनी, कुवेत र इजरायलबाट २-२ तथा बहराइन, फिनल्यान्ड, म्यानमार, नेदरल्यान्ड्स तथा स्विजरल्यान्डबाट १-१ थान ल्यापटप भित्रिएका तथ्याङ्कले देखाएको छ।

लकडाउन, अनलाइन कक्षा तथा वर्क फ्रम होम मुख्य कारण 

मासिक रुपमा यति ठूलो रकम खर्चेर नेपालमा कम्प्युटर, ल्यापटपजस्ता डिभाइसहरु आउन थालेकामा यसको मुख्य कारण इन्टरनेट तथा डिभाइसको बढ्दो प्रयोग, अनलाइन कक्षा तथा वर्क फ्रम होम आदि भएको पाइएको छ।

विभिन्न कार्यालयहरुले पनि हिजोआज कागज घटाएर अनलाइन वा कम्प्युटराइज्ड हिसाबले विवरणहरुदेखि बिलिङ र भुक्तानीमा पनि डिजिटल प्रविधि अपनाउन थालिसकेका छन्। यसका लागि पनि यस्ता डिभाइसहरु ठूलो परिमाणमा आवश्यक हुन्छन्।

विद्यालय तथा कलेजमा पनि  प्राविधिका विषयका साथै अन्य विषयहरुका लागि पनि ल्यापटप र कम्प्युटर लगभग अपरिहार्य जस्तै भैसकेको छ।

कलेज तथा विद्यालयले किन्ने बाहेक प्राविधिक विषय पढ्ने विद्यार्थीहरु प्रत्येकसँग यस्ता डिभाइसहरु अनिवार्य रुपमा हुनै पर्छ।

यसबाहेक हिजोआज प्राविधिक बाहेकका पनि प्राय सबै विषयहरुमा व्यवहारिक अंक समावेश हुने हुनाले विद्यार्थीहरुले प्रोजेक्ट पनि ल्यापटप वा कम्प्युटरकै सहारामा बनाउनु पर्ने हुन्छ। यस्ता कामका लागि साइबर वा अन्य यस्तै सेवा प्रदान गर्ने संस्थामा गएर काम गराउनुभन्दा घरमै कम्प्युटर वा ल्यापटपमार्फत् काम गर्ने बानीको विकास हुँदै गएको छ।

गत वर्षदेखि कोरोनाका कारण लकडाउन भएपछि त वर्क फ्रम होम तथा अनलाइन कक्षाका कारण सबैजसोले चाहेर वा नचाहेर पनि ल्यापटप, कम्प्युटर वा नसके स्मार्टफोनसम्म भए पनि जोडेर इन्टरनेट कनेक्शन लिएर काम र पढाइलाई अगाडि बढाइरहेका छन्।

यस हिसाबले पनि मासिक थुप्रै यस्ता डिभाइसहरु आवश्यक पर्ने भएकाले विश्वका विभिन्न देशबाट आयात हुने ल्यापटप तथा नोटबुकका सङ्ख्या मासिक हिसाबले उकालो लाग्दै गइरहेको छ भने यिनीहरुका लागि करोडाैं रुपैयाँ बाहिरिइरहेको छ।

प्रकाशित: ११ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...