संविधान विपरित कर तिर्न इन्टरनेट सेवा प्रदायकहरुलाई भक्तपुर नगरपालिकाकाे सात दिने उर्दी

Technology Khabar २७ श्रावण २०७८, बुधबार

काठमाडौं ।

भक्तपुर नगरपालिकाले आफ्नो क्षेत्रभित्र सेवा दिईरहेका इन्टरनेट सेवा प्रदायक तथा केबल टिभी सेवा प्रदायकहरुलाई कर तिर्न आदेश दिएको छ ।

नगरपालिकाले आफ्नो अधिकार भन्दा बाहिर गएर साउन २२ गते विभिन्न सेवा प्रदायकहरुलाई पत्र पठाउँदै सात दिनभित्र नगरपालिका कर तिर्न भनेको हो।

नगरपालिकाले आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गएर इन्टरनेट सेवा प्रदायक तथा केबल टिभी सेवा प्रदायकहरुलाई आर्थिक वर्ष २०७८।७९ सम्मको कर रकम दाखिला गर्न भनेको हो । सो पत्रअनुसार अब इन्टरनेट तथा केबल टिभी सेवा प्रदायकहरुले प्रति ग्राहक वार्षिकरुपमा नगरपालिकालाई १०० रुपैयाँको दरले शुल्क तिर्नुपर्ने भएको छ ।

नगरपालिकाले सो बारेमा भक्तपुर नगरपालिका र सो नगर क्षेत्रभित्र सेवा संचालन गरिरहेका केबल टिभी तथा इन्टरनेट सेवा प्रदायकहरुसँग छलफल गरेर नै सो शुल्क लिएको दाबी गरेको छ । जसमा आर्थिक वर्ष २०७७।७८ देखिकै कर नगरपालिकालाई तिर्नुपर्ने बताईएको छ ।

तर सो संवैधानिक व्यवस्था भन्दा बाहिर गएर नगरपालिकाले कर असुलीको पत्र पठाएको भन्दै इन्टरनेट सेवा प्रदायकहरुले आपत्ति व्यक्त गर्दै आएका छन् । उनीहरुले यस्तो स्थानीय कर अनावश्यक र संवैधानिक व्यवस्था विपरित उठाउँदा त्यसले आगामी दिनमा ग्राहक सेवा शुल्क बढाउन बाध्य हुने चेतावनी समेत दिएका छन् ।

संवैधानिक व्यवस्था तथा स्रोतको बाँडफाँटअनुसार दूरसञ्चार सेवा संघिय सरकार अन्तरगत रहने र त्यसको सम्पूर्ण व्यवस्थापनको कार्य संघले गर्ने स्पष्ट उल्लेख गरिएको छ।

नेपालको संविधान २०७२ को अनुसूची ५, ६, ७, ८ र ९ मा संघ, प्रदेश र स्थानीय तहको अधिकार सूचीमा त्यस बारे उल्लेख रहेको छ । जसमा दूरसञ्चार, रेडियो फ्रिक्वेन्सी बाँडफाँड, रेडियो, टेलिभिजन र हुलाक संघको अधिकारभित्र राखिएको छ।

प्रकाशित: २७ श्रावण २०७८, बुधबार

तपाइको प्रतिक्रिया