छाङरुमा बन्द भएको आठ महिनापछि सञ्चार सेवा सञ्चालन

  • Technology Khabar | २२ श्रावण २०७८, शुक्रबार
छाङरुमा बन्द भएको आठ महिनापछि सञ्चार सेवा सञ्चालन
सांकेतिक तस्बिर

काठमाडौं ।

त्रिदेशीय सीमा क्षेत्र दार्चुलाको व्यास गाउँपालिका-१, छाङरुमा बन्द भएको आठ महिनापछि सञ्चार सेवा पुनः स्थापित भएको छ । गत पुसदेखि अवरुद्ध व्यासको छाङरुस्थित नेपाल टेलिकमको सीडीएमए टावर आठ महिनापछि फेरि सञ्चालन भएको गोरखापत्रले उल्लेख गरेको छ।

हिउँदमा हिमपातका कारण क्षतिग्रस्त भएको टावर साउन दोस्रो साता सञ्चालनमा आएको व्यासको वडा नम्बर १ का वडाध्यक्ष अशोकसिंह बोहराले बताएका छन् । सौका समुदाय खलङ्गा झरेका बेला हिउँदमा हिमपातका कारण छाङरुको सीडीएमए टावर क्षतिग्रस्त भएको थियो ।

जसका कारण त्यसयता सो क्षेत्र सञ्चार विहीन बनेको थियो। आधा वर्षभन्दा बढी समयसम्म अवरुद्ध रहेको छाङरुको टेलिकम टावर साउन १२ गते मर्मत गरिएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिए ।

घाम नलागेका कारणले मर्मत भएको दुई दिनपछि मात्र टावर सञ्चालनमा आएको उनले बताए । दार्चुला टेलिकम प्रमुख गुरुङका अनुसार सदरमुकाम खलङ्गाबाट छाङरु पुगेर टावर मर्मत गर्न र फिर्ता हुन १३ दिन लागेको रिपोर्टमा उल्लेख छ।

ढिलै भए पनि फोनमा कुरा गर्न पाउँदा खुसी लागेको छाङरुका स्थानीय सीता बोहराले बताइन् । छाङरुमा फोन सेवा फेरि सञ्चालन भए पनि सो टावरले तिङ्कर गाउँमा काम नगर्ने हुँदा तिङ्करवासी अझै पनि सञ्चार सेवाबाट वञ्चित छन्।

तिङ्करका बासिन्दालाई समेत सञ्चार (फोन) सेवा दिन टावर निर्माण गर्न सर्भे गरिएको वडाध्यक्ष बोहराको भनाइ छ। तिङ्करमा सञ्चार पहुँच पुर्‍याउन पहल भइरहेको नेपाल टेलिकम दार्चुलाले जनाएको छ।

प्रकाशित: २२ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • २२ श्रावण २०७८, शुक्रबार